महानगर र उपमहानगरको भागबण्डा मिलाउन बालुवाटारमा छलफल
सत्तारूढ पाँच दलका शीर्ष नेता महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डा मिलाउन छलफलमा जुटेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी सत्तारूढ गठबन्धनको बैठकमा महानगर र उपमहानगरको भागबण्डाका विषयमा छलफल भइरहेको जनाइएको छ। बैठकमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिले भागबण्डाको प्रारम्भिक खाका प्रस्तुत गरेको छ।
स्थानीय तहको निर्वाचनमा ६ वटा महानगरमध्ये तीन वटा कांग्रेसलाई र अन्य तीन वटामा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) लाई नेतृत्व दिने प्रस्ताव गरिएको छ। कांग्रेसलाई काठमाडौं, ललितपुर र विराटनगर, माओवादीलाई भरतपुर, एकीकृत समाजवादीलाई पोखरा र जसपालाई वीरगञ्जको नेतृत्व दिने विषयमा छलफल चलिहरेको छ।
यसै गरी ११ उपमहानगरमध्ये धरान, जनकपुर, बुटवल, घोराही, तुलसीपुर र नेपालगञ्जमा कांग्रेसले नेतृत्व मागेको छ। त्यसमा अन्य दल पनि सहमति नजिक देखिएका छन्।
इटहरी र हेटौंंडा उपमहानगरको नेतृत्व एकीकृत समाजवादीले मागेको छ। जितपुर सिमरामा एकीकृत समाजवादी र कलैयामा जसपालाई दिन प्रस्ताव गरिएको छ। धनगढी उपमहानगरको मेयरमा भने कांग्रेस र समाजवादीले दाबी गरेका छन्।
आइतबारको गठबन्धनको बैठकमा पनि यसमाथि छलफल भएको थियो। आइतबार टुङ्गो लगाउन नसकिएपछि आज फेरि गठबन्धनको बैठक बसेको हो।