तालमेलको खाका टुंग्याउन गठबन्धनका नेता छलफलमा
आगामी स्थानीय तह निर्वाचनका लागि तालमेलको खाका टुंग्याउन सत्तारुढ पाँच दलीय गठबन्धनका नेता छलफलमा जुटेका छन्।
सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बसेको छ। बैठकमा तालमेलको खाकाका विषयमा छलफल भइरहेको जनाइएको छ।
केही दिनअघि गठबन्धनले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति बनाएको थियो। त्यहि समितिलाई तालमेलको खाका बनाउन जिम्मेवारी दिएको थियो।
पौडेल नेतृत्वको समितिले तालमेलको खाका तयार गरेको छ। समितिका तर्फबाट पौडेलले गठबन्धनको बैठकमा तालमेलको खाका बुझाएका छन्। बैठकमा त्यसमाथि छलफल चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।