पाकिस्तानी प्रधानमन्त्री इमरान खान पदमुक्त
पाकिस्तानी प्रधानमन्त्री इमरान खान पदमुक्त भएका छन्।
गएराति पाकिस्तानी संसद्ले अविश्वास प्रस्ताव पारित गरेसँगै उनी पदमुक्त भएका हुन्। पाकिस्तानको इतिहासमा अविश्वास प्रस्तावबाट हटाइएका पहिलो प्रधानमन्त्री हुन्।
विपक्षी दलले दर्ता गराएको अविश्वास प्रस्तावमाथि शनिबार मध्यराति मतदान भएको थियो। अविश्वास प्रस्तावको पक्षमा १७४ मत परेको छ। यो प्रस्ताव पारित गर्न १७२ मत आवश्यक थियो।
पाकिस्तानी सभामुख असद क्वेसरले राजीनामा गरेपछि सांसद अयाज सदिकले संसद्को अध्यक्षताका ग्रहण गरेका थिए। पास्कितानी सर्वोच्च अदालतले राति १२ बजेभित्र अविश्वास प्रस्तावमाथि मत विभाजन गर्न आदेश दिएको थियो।
खानको पार्टीका सभामुख क्वेसरले राति १२ बज्नुभन्दा १५ मिनेट अघि राजीनामा दिएका थिए। त्यसअघि उपसभामुखले पनि राजीनामा दिएका थिए।
सांसद सदिकले संसद् चलाएका थिए। राति १२ बजेपछि भएको मतदानमा अविश्वास प्रस्तावका पक्षमा १७४ मत परेको हो। अन्य सांसदले मतदानमा भाग लिएनन्। यो प्रस्ताव पारित भएसँगै खान प्रधानमन्त्रीबाट हटेका छन्।
पाकिस्तानमा यसअघि दुई पटक अविश्वास प्रस्ताव आएको थियो। सन् २००६ मा सौकत अजिज र सन् १९८९ मा बेनिजिर भुट्टोविरुद्ध दर्ता अविश्वास प्रस्ताव पारित हुन सकेको थिएन।
प्रधानमन्त्री खानको बहिर्गमनसँगै आज पाकिस्तानमा नयाँ प्रधानमन्त्री चयन प्रक्रिया शुरु हुने भएको छ। संसदको नेतृत्व गरिरहेका प्यानल अध्यक्ष सदिकले आज दिउसो २ बजे प्रधानमन्त्रीका लागि मनोनयन दर्ता गर्ने समय दिएका छन्।
त्यसपछि सोमबार बिहान ११ बजे संसद् बैठक बस्नेछ। त्यसमा प्रधानमन्त्रीका लागि मतदान हुनेछ।
विपक्षी पार्टीहरुका तर्फबाट शेहबाज सरिफ प्रधानमन्त्रीका उम्मेदवार बन्ने भएका छन्। उनले गएराति संसद्मा बोल्दै सबै विपक्षीलाई धन्यवाद दिएका छन्। कुनै पनि व्यक्तिप्रति राजनीतिक प्रतिसोध नलिइने बताएका छन्।
चार वर्षअघि भएको निर्वाचनमा प्रधानमन्त्री खानको पार्टी पाकिस्तान तेहरिक-ई-इन्साफ (पीटीआई)ले १३३ सिट जितेको थियो। खानले अन्य साना दलसँग मिलेर सरकार गठन गरेका थिए। तर, अहिले साना दलले समर्थन फिर्ता लिएका थिए।
अहिले उनको पक्षमा चार वटा साना सहितको गरी १३३ सांसद छन्। पाकिस्तान मुस्लिम लिग (नवाज) र पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) गरी नौ वटा पार्टी विपक्षमा छन्।
पाकिस्तानको संसद् ३४२ सदस्यीय छ। सरकार गठनका लागि १७२ सांसद आवश्यक पर्छ।