चुनावी आचारसंहितामा यस्तो छ एमालेको ६ बुँदे असहमति
स्थानीय तहको निर्वाचनका लागि जारी आचारसंहिताले अभिव्यक्ति स्वतन्त्रता हनन हुने जनाउँदै नेकपा (एमाले) ले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ।
बिहीबार एमाले महासचिव शंकर पोखरेलले निर्वाचन आयोगको कार्यालय पुगेर ६ बुँदे ध्यानाकर्षण-पत्र बुझाएका हुन्। महासचिव पोखरेलले बुझाएको ध्यानाकर्षण-पत्रमा आचारसंहिताका केही प्रावधानले अभिव्यक्ति स्वतन्त्रता हनन हुने उल्लेख गरिएको छ।
आचारसंहिताको दफा ४ को उपदफा (थ) मा भएको व्यवस्थाले राजनीतिक दललाई विचार अभिव्यक्त गर्न, आफ्नो दलको पक्षमा मत माग्न र उम्मेदवार स्वयंलाई प्रचार गर्न निषेध गरेको एमालेको जिकिर छ। एमालेले उल्लेख गरेको आचारसंहिताको उपदफामा भनिएको छ, ‘निर्वाचनलाई प्रभाव पार्ने गरी कसैको पक्ष वा विपक्षमा विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरूले प्रकाशन गरेका सामग्री शेयर गर्न नहुने, तर आयोगले तयार गरेको विर्नाचन तथा मतदाता शिक्षा सामग्री प्रकाशन वा पोस्ट गर्न यस खण्डले बाधा पुर्याएको मानिने छैन।’
यो व्यवस्थाले संविधान प्रदत्त अधिकार हनन हुने एमालेको ठहर छ। ध्यानाकर्षण-पत्रमा भनिएको छ, ‘आचारसंहितको यस्तो प्रावधानले दलहरूका विचार, नीति, कार्यक्रमको तुलना गरी श्रेष्ठतम दल रोज्ने जनताको संवैधानिक हकलाई समेत कुण्ठित गर्नेछ। अतः यस प्रावधानलाई पुनर्विचार गरिनुपर्छ।’
त्यस्तै, सामाजिक सञ्जालमा प्रचार गर्न लगाइएको रोकमा पनि एमालेले विरोध जनाएको छ। आचारसंहिताको दफा २ (न) र दफा ११ (ज) मा भएको व्यवस्था अभिव्यक्ति स्वतन्त्रता विपरीत भएको एमालेको जिकिर छ।
आचारसंहिताको यी दुवै उपदफामा निजी संस्था वा गैरसरकारी संस्थामा संलग्न व्यक्तिले एसएमएस, फेसबूक, मेसेन्जर, भाइबर, ट्वीटर, यूट्युब, इन्स्टाग्राम, टिकटक, ह्वाट्स एप, इमो, वीच्याट लगायत सामाजिक सञ्जालमा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचार सामग्री पोस्ट वा शेयर गर्ने वा सामाजिक सञ्जालमा मत माग्न नहुने व्यवस्था गरिएको छ। यो व्यवस्थाले अभिव्यक्ति स्वतन्त्रता हनन हुने भएकाले स्पष्ट पार्न एमालेले माग गरेको छ।