कांग्रेस प्रचार समितिले गठन गर्यो पाँच सल्लाहकार समूह
नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार-प्रसार समितिले पाँच वटा सल्लाहकार समूह गठन गरेको छ।
समितिका संयोजक प्रकाशशरण महतको अध्यक्षतामा मंगलबार बसेको बैठकले हरिहर विरहीकाे संयोजकत्वमा प्रचार-प्रसार सल्लाहकार समिति गठन गरेको हो।
त्यस्तै, विष्णु निष्ठुरीको संयोजकत्वमा अनलाइन मिडिया समन्वय तथा प्रचार-प्रसार समिति, किरण पोखरेलको संयोजकत्वमा छापा माध्यम समन्वय तथा प्रचार-प्रसार समिति, अनिता बिन्दुको संयोजकत्वमा टेलिभिजन समन्वय तथा प्रचार-प्रसार समिति र गोपाल झाको संयोजकत्वमा रेडियो, एफएम समन्वय तथा प्रचार-प्रसार समिति गठन गरिएको हो।
बैठकले पार्टीको संरचना अन्तर्गत प्रदेश, जिल्ला, प्रतिनिधि सभा क्षेत्र, प्रदेश सभा क्षेत्र, पालिका र वडा तथा टोल एकाइ समितिमा अविलम्ब स्थानीय निर्वाचन प्रचार-प्रसार समिति गठन गर्ने निर्णय गरेको छ।
यसै गरी पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय प्रचार-प्रसार समितिमा सुजाता परियार र त्रिभुवन विश्वविद्यालय प्रजातन्त्रवादी कर्मचारी संघलाई सदस्यका रूपमा मनोनयन गरेका छन्।