७४ लाख बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिइने
सरकारले टाइफाइड विरुद्धको राष्ट्रिय खोप अभियानको तयारी पूरा भएको जनाएको छ। मंगलबार टेकुमा आयोजित कार्यक्रममा स्वास्थ्य सेवा विभागले दिएकाे जानकारी अनुसार, खोप अभियानको अवधि आगामी २५ चैतदेखि १८ वैशाखसम्मका लागि तोकिएको छ।
तर, कतिपय प्रदेश र जिल्लाले आज (मंगलबार) बाटै खोप लगाउन थालेका छन्। यो खोप शुरू गर्ने नेपाल दक्षिण-पूर्वी एशियामै पहिलो देश बनेको छ। १५ महीनादेखि १५ वर्ष उमेर समूहका ७४ लाख १५ हजार १६३ जना बालबालिकालाई दिने यो खोप अभियानका लागि आवश्यक जनशक्ति, खोप केन्द्र र खोप देशभर पुगिसकेको स्वास्थ्य सेवा विभागले जनाएको छ।
विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले खोप पूर्ण रूपमा सुरक्षित र प्रभावकारी रहेको भन्दै आफ्ना नानीबाबुहरूलाई ढुक्कले लगाउन आम अभिभावकलाई आग्रह गरे। उनले टाइफाइड सङ्क्रमणलाई तत्काल न्यूनीकरण गर्न खोप उपयुक्त विकल्प भएको सुनाए।
“टाइफाइड पानीजन्य रोग हो, स्वच्छ खानेपानी नहुँदा र सरसफाइमा ध्यान पुर्याउन नसक्दा यो रोगको सङ्क्रमण फैलने डर बढी हुन्छ” महानिर्देशक डा. सिंहले भने, “त्यसैले अहिले हामीले नि:शुल्क रूपमा प्राप्त खोपको उपयोग गर्नु बढी प्रभावकारी हुन्छ।”
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेककुमार लालले यो खोपका लागि एक दशक अघिदेखि तयारी भए पनि यस पटक मात्रै सफल भएको बताए। दक्षिणपूर्वी एशियामा पहिलो पटक आएको खोप भए पनि पूर्ण सुरक्षित र प्रभावकारी भएको उनको भनाइ छ। उनले भने, “कतिपयले पहिलो पटक आउँदा शङ्का व्यक्ति गर्नुहुनसक्छ । तर, शङ्का मान्नु पर्दैन, ढुक्कले लगाउनुहोला।“
ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इमुनाइजेसन (गाभी)ले यो खोप नि:शुल्क रूपमा उपलब्ध गराएको हो।स्वास्थ्य सेवा विभाग बाल तथा खोप शाखा प्रमुख सागर दाहालले खोप सल्लाहकार समितिको सिफारिशका आधारमा खोप समितिले निर्णय गरेर अभियान शुरू गरेको बताए।
उनले २४ दिनसम्म चल्ने यो अभियानपछि नियमित खोप कार्यक्रममा टाइफाइड विरुद्धको खोप समेत समावेश हुने जानकारी दिए। नियमित कार्यक्रममा जाँदा यो खोप १५ महीना पुगेका सबै बालबालिकालाई एक पटक दिइने उनको भनाइ छ।
अहिलेसम्म नियमित खोप कार्यक्रममा १३ वटा खोप दिइँदै आएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले प्रति एक लाख जनसङ्ख्यामा एक सयभन्दा बढी सङ्क्रमण दर भएको छ। नेपालमा अहिले प्रति एक लाख जनसङ्ख्यामा एक हजार ६२ जनालाई सङ्क्रमण देखिएको छ।
नेपालमा विगत पाँच वर्षको तथ्याङ्क अनुसार बर्सेनि औसत चार लाख ५० हजार जनाभन्दा बढीमा टाइफाइड रोग सङ्क्रमण पुष्टि भएको छ। विगत तीन वर्षको तथ्याङ्क अनुसार, पानी तथा खानाजन्य सङ्क्रामक रोगहरूमध्ये तेस्रो र अस्पताल भर्ना हुने कारणहरूमध्ये यो रोग चौथो नम्बरमा रहेको देखिएको छ ।
यो रोगको सङ्क्रमण सबै उमेर समूहमा हुन्छ, तर १५ वर्षमुनिका बालबालिकामा अन्य उमेर समूहभन्दा बढी सङ्क्रमण देखिएको छ।
टाइफाइड सङ्क्रमण साल्मोनेला टाइफीबाट हुने गम्भीर रोग हो। जुन ढल वा सङ्क्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोगको जीवाणु स्वस्थ व्यक्तिमा दूषित खाना वा पानीको माध्यमबाट सर्दछ।
यो रोग लागेमा उच्च ज्वरो आउने, टाउको दुख्ने, जीउ दुख्ने, पसिना आउने,पखाला लाग्ने र बान्ता हुने हुन्छ साथै कहिलेकाहीं ज्यानै जान पनि सक्छ ।