नेपाल भन्छन्- गठबन्धनबीच ‘विन विन’ का आधारमा चुनावी तालमेल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वामपन्थी र लोकतान्त्रिक शक्तिबीच ‘विन विन’ का आधारमा चुनावी तालमेल गर्ने सहमति भएको बताएका छन्।
समाजवादी प्रेस संगठनले आइतबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपाल वामपन्थी र लोकतान्त्रिक शक्ति मिलेर आगामी चुनावमा जानुपर्ने आवश्यकता रहेको बताए। त्यसलाई ध्यानमा राखेर चुनावी तालमेल गर्ने सहमति भएको उनको भनाइ थियो।
अध्यक्ष नेपालले भने, “वामपन्थी र लोकतान्त्रिक शक्तिबीच ‘विन विन’ का आधारमा चुनावी तालमेल गर्ने सहमति भएको छ। यो सहमतिले सकारात्मक सन्देश दिएको छ।”
सत्तारूढ गठबन्धनमा भएको सहमतिले उत्साहित बनाएको उनको भनाइ थियो। “यो सहमतिले जनता पनि उत्साहित भएका छन्,” नेपालले भने।
एकीकृत समाजवादीले कामका योजना अगाडि सारेर चुनावमा जाने उनले बताए। अहिले चुनावी माहोल आफ्नो पार्टीको पक्षमा देखिएको उनको भनाइ थियो।
“पछिल्लो समय हाम्रो पार्टीमा प्रवेश गर्नेको लहर चलेको छ,” नेपालले भने, “समयको प्रवाह हाम्रो पक्षमा छ र यो देखेर सबै प्रतिगामी दिशामा लागेकाको प्रवृत्ति छताछुल्ल भएको छ।”