पाकिस्तानी प्रधानमन्त्री इमरान खानद्वारा संसद् विघटनको सिफारिश
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संसद् विघटनका लागि सिफारिश गरेका छन्।
उनले आइतबार संसद् विघटन गरेर ताजा जनादेशमा जान राष्ट्रपति आरिफ अल्भीलाई सिफारिश गरेका हुन्। उनले देशबासीका नाममा सम्बोधन गर्दै निर्वाचनमा जान चाहेको बताएका छन्।
प्रधानमन्त्री खान विरुद्ध विपक्षी दलले संसद्मा अविश्वास प्रस्ताव दर्ता गरेका थिए। साना दलले उनलाई दिएको समर्थन फिर्ता लिएका थिए।
तर, पाकिस्तानको संसद्का उपसभामुख कोसिम सुरीले अविश्वासको प्रस्तावलाई खारेज गरेका थिए। उपसभामुखले अविश्वास प्रस्ताव खारेज गरेसँगै प्रधानमन्त्री खानले संसद् विघटनका लागि सिफारिश गरेका हुन्।
पाकिस्तानको संसद् ३४२ सदस्यीय छ। सरकार गठनका लागि १७२ सांसद आवश्यक पर्छ।
चार वर्षअघि भएको निर्वाचनमा प्रधानमन्त्री खानको पार्टी पाकिस्तान तेहरिक-ई-इन्साफ (पीटीआई)ले १३३ सिट जितेको थियो। खानले अन्य साना दलसँग मिलेर सरकार गठन गरेका थिए। तर, अहिले साना दलले समर्थन फिर्ता लिएका थिए।
अहिले उनको पक्षमा चार वटा साना सहितको गरी १३३ सांसद छन्। पाकिस्तान मुस्लिम लिग (नवाज) र पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) गरी नौ वटा पार्टी विपक्षमा छन्। उनीहरूसँग १९९ सांसद छन्।
प्रधानमन्त्री खान अल्पमतमा परेपछि विपक्षी दल मिलेर संसद्मा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। आज त्यसमाथि मतदान हुने कार्यसूची थियो।
तर, मतदान हुनअघि प्रधानमन्त्री खानले उपसभामुख सुरीलाई भेटेका थिए। त्यसलगत्तै उपसभामुख सुरीले अविश्वासको प्रस्ताव खारेज भएको घोषणा गरे।
त्यसपछि प्रधानमन्त्री खानले संसद् विघटनका लागि राष्ट्रपति समक्ष सिफारिश गरेका हुन्। उनले ९० दिनभित्र चुनाव गर्ने घोषणा गरेका छन्।