देशभरका मतगणना स्थलमा सीसीटीभी जडान हुने

स्थानीय तहको चुनावका लागि देशभरका सबै मतगणना स्थलमा सीसीटीभी जडान गरिने भएको छ।
आयोगले सीसीटीभी जडानको व्यवस्था गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको थियो। मन्त्रालयले देशभरका स्थानीय तहलाई मतगणना स्थलमा सीसीटीभी जडान गर्न निर्देशन दिएको थियो।
सीसीटीभी जडान गर्न थालिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। “देशभरका सबै ७५३ मतगणना स्थलमा सीसीटीभी जडान गर्ने आयोगको सोच हो,” प्रवक्ता पौडेलले भने, “यसमा स्थानीय तहले सकारात्मक प्रतिक्रिया जनाएका छन्। केही ठाउँमा जडान भएको पनि जानकारी आएको छ।”
मतदान केन्द्र र मतदान स्थलमा सीसीटीभी जडान गर्न नसकिने भए पनि मतगणना स्थलमा भने सम्भव भएको उनको भनाइ छ। सबैजसो मतगणना स्थल स्थानीय तहको सदरमुकाममा रहेकाले सीसीटीभी जडान गर्न सकिने उनले बताए।
सबै मतगणना स्थलमा जडान गरिने सीसीटीभी मार्फत आयोगको केन्द्रीय कार्यालयबाट निगरानी गरिने भएको छ। “सबै ठाउँमा सीसीटीभी जडान हुन्छ, त्यसको केन्द्रबाट निगरानी गर्छौं,” प्रवक्ता पौडेलले भने।
यसले मतगणनालाई सहज र पारदर्शी बनाउन सहयोग पुग्ने आयोगको विश्वास छ। यसले मतगणनामा अनावश्यक झमेला नआउने उनले बताए।