स्थानीय चुनावमा गठबन्धनतिरै मोडियो कांग्रेस
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी स्थानीय चुनावमा गठबन्धन गर्नुपर्नेतिरै मोडिएको छ। अधिकांश केन्द्रीय सदस्यले गठबन्धनमा जोड दिएका छन्।
कांग्रेस केन्द्रीय कार्यसमितिको पहिलो दिनको बैठकमा केन्द्रीय सदस्यले एक्लै लड्नुपर्नेमा जोड दिएका थिए। ११ चैतमा बोल्ने धेरैजसो केन्द्रीय सदस्य एक्लै चुनावमा जानुपर्ने पक्षमा उभिएका थिए। पहिलो दिन बोलेका ६ वटा प्रदेशका सभापतिले पनि मिश्रित धारणा राखेका थिए।
आइतबारको दोस्रो बैठकमा भने बैठकको माहोल गठबन्धनतिरै मोडिएको एक केन्द्रीय सदस्यले बताए। आज आफ्नो धारणा राखेका ५४ जना केन्द्रीय सदस्यमध्ये अधिकांशले गठबन्धन गरेर स्थानीय चुनावमा जानुपर्ने धारणा राखेका छन्। “कांग्रेसले जितेका स्थानीय तह आफूसँगै रहने गरी गठबन्धन गर्नुपर्छ भन्ने धारणा आएको छ,” अर्का केन्द्रीय सदस्यले भने।
बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेस प्रवक्ता प्रकाशशरण महतले पनि अधिकांश केन्द्रीय सदस्यले गठबन्धनमै जोड दिएको बताए। “आज बोलेका धेरैजसो साथीहरूले आवश्यकताका आधारमा गठबन्धन गरेर जानुपर्छ भन्ने मत राखेका छन्,” प्रवक्ता महतले भने, “साथीहरूको मतलाई ध्यानमा राखेर पार्टीले सर्वसम्मत निर्णय गर्छ।”
उनले आवश्यकताका आधारमा गठबन्धन गर्ने निर्णय हुने बताए। “चुनावमा जानु भनेको हार्नलाई होइन, कसरी धेरै सीट जित्न सकिन्छ, त्यही रणनीति अनुसार चुनावमा जान्छौं,” महतले भने, “गठबन्धन गरेर जान्छौं। कस्तो ढाँचामा जाने भन्ने केन्द्रीय समितिले निर्णय गर्छ।”
पहिलो दिन २१ केन्द्रीय सदस्य र ६ वटा प्रदेश सभापतिले बोलेका थिए। आज ५४ केन्द्रीय सदस्यले बोलेका छन्।
आइतबार केन्द्रीय सदस्यहरू एनपी. साउद, जीवनबहादुर शाही, दीपक गिरी, पुष्पा भुसाल, ईश्वरी न्यौपाने, सीता गुरुङ, गोविन्द भट्टराई, श्यामकुमार घिमिरे, देवेन्द्रराज कँडेल, डिला संग्रौला, सरिता प्रसाईं, अमृत अर्याल, गोपाल दहित, योगेन्द्र चौधरी, कल्पना चौधरी, ध्रुव वाग्ले, महेन्द्रकुमार राय, गेहेन्द्र गिरी, सञ्जयकुमार गौतम, तारामान गुरुङ, आङ्गेलु शेर्पा, मधु आचार्य, दिनेशकुमार यादव र राजीव कोइरालाले आफ्नो धारणा राखेका छन्।
त्यस्तै, अब्दुल रज्जाक, चन्द्रबहादुर केसी, उमेशजंग रायमाझी, अब्दुल सत्तार, उदयशमशेर राणा, जीतजंग बस्नेत, राजीव ढुंगाना, राजेन्द्रकुमार केसी, अर्जुनजंगबहादुर सिंह, राजीवविक्रम शाह, डा. चन्द्रमोहन यादव, अञ्जनी श्रेष्ठ, मैकुलाल वाल्मीकि, चम्पादेवी खड्का, प्रकाश रसाइली स्नेही, रंगमती शाही, मञ्जुकुमारी यादव, गुरु बराल, प्रतिमा गौतम, जावेदा खातुन जागा, नागिना यादव, नानु बास्तोला, भीम पराजुली, कान्तिका सैजुवाल, गंगालक्ष्मी अवाल, उर्मिला नेपाल केसी, सुशीला ढकाल (आचार्य), रूपा विक, विद्यादेवी तिमिल्सिना र जीवन रानाले आआफ्नो धारणा राखेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।
कांग्रेस केन्द्रीय कार्यसमितिको अर्को बैठक सोमबार बिहान ११ः३० बजे बस्नेछ। सोमबार केन्द्रीय सदस्यले बोल्ने क्रम सकिने र निर्णय हुने प्रवक्ता महतले बताए।