किन पाएन ऋषि कट्टेलको नेकपाले स्थानीय चुनावमा भाग लिन?
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको नेकपासँग नाम जुधेपछि चर्चामा आएको ऋषिराम कट्टेलको पार्टीले आगामी स्थानीय चुनाव लड्न नपाउने भएको छ।
निर्वाचन आयोगमा आवेदन दिएका ८० दलमध्ये कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मात्रै स्थानीय चुनावमा भाग लिन नपाउने भएको हो। आयोगको बिहीबार बसेको बैठकले ७९ दललाई मात्रै मान्यता दिने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
आयोगले नेकपालाई किन अयोग्य घोषणा गर्यो त? “उहाँहरूको आन्तरिक विवादका कारण हामी दलीय मान्यता दिन असमर्थन भएका हौं,” प्रवक्ता पौडेलले हिमालखबरसँग भने, “नेकपामा अध्यक्ष र उपाध्यक्ष पक्षको विवाद देखिएको छ।”
घन कोदालो चुनाव चिह्न भएको यो पार्टी निर्वाचन आयोगमा आठाैं नम्बरमा दर्ता छ। यो दल ३० मंसीर २०७३ मा आयोगमा दर्ता भएको हो।
चुनावमा भाग लिन नपाए पनि दलको मान्यता भने कायमै छ।
पार्टी अध्यक्ष कट्टेलसँग फरक मत राख्दै उपाध्यक्ष लोकनारायण सुवेदी लगायतले आफूहरू आधिकारिक भएको दावी सहित आयोगमा निवेदन दिएका थिए। जसले गर्दा दुवै पक्ष स्थानीय चुनावका लागि अयोग्य घोषित भएका हुन्।
नेकपा अध्यक्ष कट्टेल भने सुवेदी पक्षलाई पहिला नै पार्टीले निश्कासन गरिसकेको बताउँछन्। उनी भन्छन्, “पार्टीको कारबाहीमा परिसकेको केही साथीहरूले कीर्ते कागजपत्र बनाएर आयोगमा गएका रहेछन्।”
३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनमा आयोगले राष्ट्रिय दलको मान्यता प्राप्त दललाई मात्रै दलीय चिह्न प्रदान गर्दै छ। त्यसै पनि चुनाव चिह्न नपाउने भएकाले आयोगले अयोग्य घोषित गर्दैमा त्यस आफूहरूलाई फरक नपर्ने कट्टेलको प्रतिक्रिया छ।
उनी भन्छन्, “एउटै पालिकामा एउटै पार्टीका ४७ उम्मेदवारले फरक फरक चुनाव चिह्न पाउने भएपछि हाम्रो जस्तो दलले मान्यता पाए के नपाए के?”
कट्टेलले २०७५ मंसीरमा आफ्नो पार्टीसँग नाम जुधेको भन्दै केपी शर्मा ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको नेकपा विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। २३ फागुन २०७७ मा अदालतले कट्टेलेको पक्षमा फैसला गर्दै ओली र दाहाल नेतृत्वको नेकपा खारेज गरेको थियो। यो फैसलापछि ३ जेठ २०७५ मा एकीकृत भएको साविक एमाले र माओवादी केन्द्र ब्युँतिएका थिए।