गुन्द्रुक र जनै पनि विदेशबाट आउँछ, देश बर्बाद हुँदै छ: चित्रबहादुर केसी
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शासकले विदेशीको इशारामा काम गर्दा देश बर्बाद हुँदै गएको जिकिर गरेका छन्।
प्रजातान्त्रिक शासनका नाममा देशमा शासक वर्गले देशलाई पछाडि धकेलिरहेको उनको भनाइ थियो। निजीकरणका नाममा सरकारी उद्योगधन्दा बन्द भएको र बाहिरबाट सामान ल्याउनु परिरहेको उनको भनाइ थियो।
“हामीलाई गुन्द्रुक पनि अर्काले पठाइरहेको छ। जनै नलगाउने तिब्बतियनले हाम्रा लागि जनै पठाइरहेका छन्। खाद्यान्न बाहिरबाट ल्याउनु परिरहेको छ,” केसीले भने, “प्रजातान्त्रिक शासनका नाममा देश बर्बाद हुँदै गएको छ।”
शासकहरूले देश विकासमा ध्यान नदिंदा युवा विदेश गइरहेको उनको भनाइ थियो। “दैनिक कैयौंं युवायुवती विदेश गइरहेका छन्। देश रित्तिएको छ,” केसीले भने, “यति राम्रो मुलुकलाई भीख माग्ने बनाएको छ।”
राजनीतिक दल र नेताहरूले देशको भन्दा विदेशीको हित हेर्दा समस्या भइरहेको उनको आरोप छ। “सात महीना भयो संसद् चलेको छैन। न्यायपालिका ध्वस्त छ, क्षतिविक्षत भएको छ। कार्यपालिकाको अवस्था त्यस्तै छ,” उनले भने।
शुक्रबार अमेरिकी सहायता परियोजना एमसीसी सम्झौताको विरोधमा आयोजित आम सभालाई सम्बोधन अध्यक्ष केसीले देशमा कलकारखाना खोल्नेभन्दा पनि विदेशीसँग हात थाप्ने प्रवृत्ति बढेको जिकिर गरे। “कलकारखाना खोल्ने मतलब भएन, उद्योग खोल्ने मतलब भएन,” केसीले भने, “प्रजातान्त्रिक समाजवादको गीत गाएर जनतामाथि शासन गरिरहेका छन्।”