पत्रकार श्रेष्ठलाई प्रहरीले दुर्व्यवहार गरेको विषयमा छानबिन गर्न अन्तर्राष्ट्रिय पत्रकार महासंघकाे माग
अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे) र नेपाल पत्रकार महासंघले एमसीसी कम्प्याक्टको विषयमा फैलाइएको भ्रामक समाचारको विषयमा ‘फ्याक्ट चेक’ गर्दा नेपाल फ्याक्टचेकका सम्पादक उमेश श्रेष्ठलाई नेपाल प्रहरीले दुर्व्यवहार गरेको विषयमा भर्त्सना गर्दै घटनाको छानबिन गर्न माग गरेका छन्।
श्रेष्ठले प्रकाशन गरेको ब्लगलाई लिएर २२ फागुनमा नेपाल प्रहरी साइबर ब्यूरोले बोलाएको थियो। २३ फेब्रुअरीमा साइबर ब्यूरो पुगेपछि प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रदिन ताम्राकारले उनलाई दुर्व्यवहार गर्दै एमसीसी कोषको बारेमा गलत सूचना फैलाएको आरोप लगाएका थिए।
माईसंसार डटकमका संस्थापक श्रेष्ठले नेपाली सञ्चार माध्यममा छापिएका भ्रामक सूचनाको ‘फ्याक्ट चेक’ गर्छन्। श्रेष्ठले एमसीसी कोषको विषयमा फैलाइएको भ्रामक समाचारको विषयमा ‘फ्याक्ट चेक’ गरेकै आधारमा सत्यतथ्य नबुझी आफूलाई पक्राउ गर्ने डीएसपी ताम्राकारले धम्की दिएको आरोप लगाएका छन्।
माईसंसार डटकममा छापिएको श्रेष्ठको ब्लगका अनुसार, एमसीसी कोषबारे गलत सूचना फैलाउने नेपालका धेरै युट्युब च्यानल, अनलाइन पोर्टल र सामाजिक सञ्जाल प्रयोगकर्ताले फैलाएको भ्रमको विषयमा ब्लग प्रकाशित गरेपछि साइबर ब्यूरोले बोलाएको थियो।
“मेरो लेखको विषयवस्तु नबुझेर प्रहरीले मलाई दुर्व्यवहार गर्नु दुर्भाग्यपूर्ण हो। उनीहरूले मलाई यस्तो लेख लेख्ने अधिकार कसले दियो भनी अपराधी जस्तै व्यवहार गरे। उनीहरू मेरो कुरा सुन्न तयार थिएनन्। उनीहरूले मलाई पक्राउ गर्ने धम्की समेत दिए र सहयोगका लागि फोन गर्न खोज्दा मेरो मोबाइल खोस्ने प्रयास गरे,” श्रेष्ठले आईएफजेलाई भनेका छन्।
डेढ घण्टाको सोधपुछपछि श्रेष्ठलाई फागुन २३ गते ब्यूरोबाट रिहा गरिएको थियो।
नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले लेखको मूल विषयवस्तु थाहा नपाई पत्रकारलाई प्रहरीले बोलाउनु, दुर्व्यवहार र धम्की दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सरासर हनन भएको आईएफजेलाई बताएका छन्। पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न महासंघले सरकारलाई आग्रह गरेको छ।
आईएफजेले विज्ञप्ति जारी गर्दै भनेको छ, “नेपाली प्रहरी अधिकारीहरूले उमेश श्रेष्ठलाई अनुचित रूपमा बोलाउनु चिन्ताजनक छ।यसले झूटो समाचार र गलत सूचना नियन्त्रण गर्ने प्रहरीको अक्षमतालाई सङ्केत गर्दछ। आईएफजे घटनाको छानबिन गर्न आह्वान गर्दछ।”