युक्रेनमाथि आक्रमण रोकेर वार्ताबाट समस्या सुल्झाउन चिकित्सकको आह्वान
सामाजिक उत्तरदायित्वका लागि चिकित्सक, नेपाल संस्थाले युक्रेनमा भएको रूसी आक्रमणको भर्त्सना गरेको छ।
संस्थाले कोभिड-१९ महाव्याधिको पीडाबाट मुक्त नहुँदै शुरू भएको विध्वंसकारी युद्धले विश्वलाई नै त्रस्त बनाएको ठहर गर्दै युद्धविरामको आह्वान गरेको छ। तुरुन्तै युद्धविराम घोषणा गरेर शान्तिपूर्ण संवादबाट समस्या समाधान गर्ने वातावरण बनाउनु रूसलाई आग्रह गरेको छ।
“रूसले युक्रेन विरुद्ध शुरू गरेको युद्धप्रति गहिरो खेद प्रकट गर्दै युद्धलाई तत्काल बन्द गरेर रूस र युक्रेनलाई शान्तिवार्तामा ल्याउन आवश्यक पहल गर्न संयुक्त राष्ट्रसंघ लगायत विश्व शान्ति अभियानमा संलग्न सम्पूर्ण संघसंस्थालाई आह्वान गर्दछौं,” विज्ञप्तिमा भनिएको छ।
फिजिसियन फर सोसल रेस्पोन्सबिलिटी विश्वव्यापी सञ्जाल भएको चिकित्सकहरूको संस्था हो। यो संस्थाले युद्ध, प्राकृतिक प्रकोपमा काम गर्दै आएको छ।
संस्थाका नेपाल च्याप्टर अध्यक्ष डा. शरद वन्तद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “कुनै पनि द्वन्द्व र विविधताको समस्या सेना र हतियारबाट समाधान नहुने भएकाले सामाजिक उत्तरदायित्वका लागि चिकित्सकहरू युद्धको सधैं भर्त्सना गर्दछ।”