अर्थ मन्त्री शर्माले संसद्मा एमसीसी प्रस्ताव प्रस्तुत गर्ने
अर्थ मन्त्री जनार्दन शर्माले बिहीबार बस्ने प्रतिनिधि सभा बैठकमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता छलफलका लागि प्रस्तुत गर्ने भएका छन्।
संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमद्वारा बिहीबार सार्वजनिक सम्भावित कार्यसूचीमा शर्माले एमसीसी प्रस्ताव सामान्य छलफलका लागि प्रस्तुत गर्ने उल्लेख छ।
“अर्थ मन्त्री जनार्दन शर्माले ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बीच भएको अनुदान सहयोग सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने,” कार्यसूचीमा भनिएको छ।
८ फागुनमा भने यो सम्झौता शर्माको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद्मा टेबल गरेका थिए।