एमसीसीमा छलफल गर्न प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेस सांसदहरूलाई निर्देशन
नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ।
कांग्रेसले बिहीबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा सबै सांसदलाई उपस्थित हुन निर्देशन दिएको हो। मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौतामाथि सैद्धान्तिक छलफल हुने भएकाले अनिवार्य उपस्थितिका लागि सर्कुलर जारी गरिएको कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले जानकारी दिइन्।
सचेतक भुसालले हिमालखबरसँग भनिन्, “एमसीसी जस्तो महत्त्वपूर्ण सम्झौतामा छलफल हुने भएकाले अनुपस्थित नहुनुस् भनेका छौं।”
कांग्रेसले एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्नुपर्ने निर्णय गरिसकेको छ। ६३ सांसद रहेको कांग्रेसका विजयकुमार गच्छदार र मोहम्मद अफताब आलम निलम्बित छन्।
८ फागुनमा संसद्मा टेबल भएको एमसीसी सम्झौता सामान्य बहुमतले पारित गर्ने प्रावधान छ।