एमसीसीका पक्षमा मतदान गर्न सकिंदैन भने सरकारमा बस्नुको अर्थ छैन: गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले ल्याएको प्रस्तावका विपक्षमा मतदान गर्नेसँग सरकारमा सँगै बस्न नसकिने बताएका छन्।
चितवनमा मंगलबार पत्रकारसँग कुराकानी गर्दै थापाले सरकारमा सहभागी भई सरकारकै प्रस्तावका विपक्षमा मतदान गर्नु अनैतिक र अव्यावहारिक हुने बताए। “सरकारमा बसेर सरकारको प्रस्तावको विरुद्धमा मतदान गरिसकेपछि हामी यो विषयका सन्दर्भमा फरक ठाउँमा मतदान गर्छौं। तर, सँगै जान्छौं भन्ने कुरा अनैतिक र अराजनीतिक विषय हुन्छ,” थापाले भने, “कि यसका पक्षमा मतदान गरेर सँगै बसौं। फरक फरक ठाउँमा मतदान गर्ने भएसँगै बस्न सकिंदैन।”
हरेक नेता सरकारमा रहेका समयमा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) का विषयमा विभिन्न किसिमका प्रक्रिया अघि बढेको स्मरण गर्दै उनले छलफलपछि सबैले एमसीसीका पक्षमा मतदान गर्ने विश्वास व्यक्त गरे।
तत्कालीन नेकपा नेतृत्वको सरकारले ल्याएको प्रस्ताव वर्तमान सरकारले हुबहु सदनमा ल्याएको जनाउँदै थापाले नेताले पहिला सरकारमा रहँदा पनि ठीक र अहिले विरोध गर्दा पनि ठीक भन्ने नगर्न आग्रह गरे। एमसीसीका पक्षमा बोल्न कांग्रेसले पार्टी पङ्क्तिलाई प्रशिक्षित गर्ने उनले बताए।
महामन्त्री थापाले भने, “यो सम्झौताको पक्षमा कांग्रेस किन उभियो भन्ने कुरा हामी जनतामा गएर भन्छौं। सिङ्गो पार्टी एमसीसीका पक्षमा छ।” (रासस)