माघमा आयातको गति केही मत्थर, सात महीनाको व्यापार घाटा १० खर्ब
विदेशबाट वस्तु आयातको उच्च गतिमा माघमा केही शिथिलता आएको छ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, माघमा रु.एक खर्ब ४८ अर्ब मूल्य बराबरको वस्तु मात्रै आयात भएको छ। यो अघिल्ला महीनाहरूको औसत आयातको रकमभन्दा केही थोरै हो। चालू आर्थिक वर्षको पहिलो ६ महीनामा औसतमा हरेक महीना रु.एक खर्ब ६६ अर्ब मूल्य बराबरको वस्तु आयात भएको थियो।
उच्च आयातका कारण देशको बाह्य क्षेत्रमा असन्तुलन निम्तिएर अर्थतन्त्र नै सङ्कटमा धकेलिएको अर्थशास्त्रीहरूले बताउँदै आएका छन्। आयात निरुत्साहित गर्न नेपाल राष्ट्र ब्यांकले गत पुसयता दुई पटक गरी दर्जनौं वस्तुको आयातका लागि प्रतीतपत्र खोल्दा शुरूमै व्यवसायीले ब्यांकमा नगद बुझाउनुपर्ने प्रावधान लागू गरेको थियो।
राष्ट्र ब्यांकको कडाइ तथा ब्यांक तथा वित्तीय संस्थाको ऋण दिने क्षमता खस्किएका कारण आयातमा केही कमी भएको अनुमान छ।
माघसम्म नेपालले रु.११ खर्ब ४७ अर्ब बराबरको वस्तु आयात गरेको छ। यो गत वर्षको यही अवधिका तुलनामा ४२.८ प्रतिशत धेरै हो।
यो अवधिमा नेपालले रु.एक खर्ब ३१ अर्ब बराबरको वस्तु निर्यात गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा ८८ प्रतिशत धेरै हो।
यो आर्थिक वर्षको पहिलो सात महीना (माघसम्म) मा नेपालले वैदेशिक व्यापारमा रु.१० खर्ब १५ अर्ब घाटा बेहोरिसकेको छ। गत वर्षको यही अवधिका तुलनामा व्यापार घाटा ३८.५ प्रतिशत बढेको देखिएको छ।
माघसम्म नेपालले रु.दुई खर्ब ४४ अर्बको त कृषि वस्तु नै आयात गरेको छ। यसमध्ये अन्नको आयात मात्रै रु. ५० अर्ब नाघेको छ।