मौद्रिक नीतिको समीक्षाबारे महासंघको प्रतिक्रिया- आयात कर्जामा गरिएको कडाइले महँगी बढ्छ
नेपाल उद्योग वाणिज्य महासंघले आयात घटाउने उपायमा जोड दिंदा महँगी बढ्ने ठहर गरेको छ।
नेपाल राष्ट्र ब्याङ्कले मौद्रिक नीतिको अर्धवाषिक समीक्षा सार्वजनिक गर्दै अनुत्पादक क्षेत्रमा प्रवाह हुने कर्जामा कडाइ गर्ने उल्लेख गरेपछि महासंघले यस्तो प्रतिक्रिया जनाएको हो। “निर्यात प्रवर्द्धन र मुलुकभित्र रकम भित्र्याउन अन्य उपाय अवलम्बन नगरी आयात घटाउने उपाय अबलम्बन गरिंदा यसले अनधिकृत व्यापार बढ्नुका साथै मूल्य समेत अकासिनेछ,” महासंघद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ।
राष्ट्र ब्याङ्कले आयात, जग्गा प्लटिङ, सवारी साधन, ओभरड्राफ्ट, शेयर धितोमा जाने लगायत कर्जामा कडाइ गरिने जनाएको छ। शेयर बजार कर्जामा गरिने कडाइले साना लगानी प्रभावित हुने महासंघको ठहर छ।
महासंघका अनुसार, यसले गर्दा निक्षेप नबढ्ने तथा कर्जा निक्षेप अनुपात तोकिएभन्दा माथि रहेको अवस्थामा ब्याजदरमा गरिएको दुई प्रतिशत बिन्दुको वृद्धिले कर्जा समेत महँगिनेछ।
कोभिड–१९ महामारीको तीन वटा लहरसँग जुध्दै अर्थतन्त्र सुधारोन्मुख रहेका वेला नेपाल राष्ट्र ब्याङ्कले बिहीबार सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले आर्थिक गतिविधि प्रभावित हुने महासंघको भनाइ छ।
आफूहरूले दिएको सुझाव बमोजिम उत्पादनमूलक उद्योगलाई अन्य व्यवसायभन्दा कम ब्याजदरमा कर्जा उपलब्ध गराउने गरी अध्ययन गर्ने भनी समीक्षामा उल्लेख हुनु भने स्वागतयोग्य भएको महासंघले जनाएको छ।