सभामुखलाई एमसीसी संसद्मा लैजान्नँ भन्ने अधिकारै छैन: कांग्रेस प्रवक्ता महत
नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटालाई अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई संसद्मा प्रस्तुत गर्दिनँ भन्ने अधिकार नभएको बताएका छन्।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि महतले भने, “सभामुखज्यूलाई कुनै पनि विषय संसद्मा लैजान्नँ भन्ने अधिकार छैन।”
एमसीसी सम्झौताको छिनोफानो संसद्ले नै गर्नुपर्नेमा महतले जोड दिए। प्रवक्तामा महतले भने, “सदनमा भोटिङ भयो भने एमसीसी अत्याधिक बहुमतले पारित हुन्छ।”
नेकपा (माओवादी केन्द्र) को समेत सलंग्नतामा नेपालले एमसीसी सम्झौता गरेको महतले बताए। २०७४ सालमा कांग्रेस र माओवादीको संयुक्त सरकारले एमसीसी सम्झौतामा हस्ताक्षर गरेको थियो। सम्झौतामा नेपालको प्रसारण लाइन बनाउन र सडक स्तरोन्नती गर्न अमेरिकाले ५० करोड डलर अनुदान दिने उल्लेख छ।
नेताहरूले बोल्ने क्रम जारी रहेकाले शुक्रबार पनि कार्यसम्पादन समितिको बैठक बस्ने महतले जानकारी दिए।
आजको बैठकमा कांग्रेस पूर्व महामन्त्री डा. शशांक कोइरालाले पार्टीको अस्तित्व जोगाउनका लागि आगामी स्थानीय चुनावमा कुनै पनि दलसँग तालमेल गर्न नहुने प्रस्ताव राखेका थिए।