शशांक कोइरालाको प्रस्ताव- कांग्रेसको अस्तित्व जोगाउने हो भने स्थानीय चुनाव एक्लै लड्नुपर्छ
नेपाली कांग्रेसका पूर्व महामन्त्री डा शशांक कोइरालाले स्थानीय तहको निर्वाचनमा कुनै दलसँग गठबन्धन गर्न नहुने प्रस्ताव राखेका छन्।
डा. कोइरालाले कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बिहीबार बसेको बैठकमा स्थानीय चुनावमा कुनै पनि दलसँग तालमेल गर्न नहुने प्रस्ताव राखेका हुन्। सरकारले आगामी ३० वैशाखका लागि स्थानीय चुनावको मिति घोषणा गरेपछि बसेको बैठकमा कोइरालाले कांग्रेसले आफ्नो अस्तित्व रक्षालाई पहिलो प्राथमिकता दिनुपर्नेमा बताए।
“अब हामीले आफ्नै अस्तित्व जोगाउनुपर्छ र त्यसका लागि चुनावमा कुनै पनि पार्टीसँग मिलेर जानु हुँदैन,” बैठकमा आफूले राखेको प्रस्तावबारे जानकारी दिंदै कोइरालाले भने, “मेरो स्पष्ट प्रस्तावलाई धेरै नेताहरूले सकारात्मक रुपमा लिनुभयो।”
सत्तारुढ पाँच दलले तालमेल गरेर चुनाव लड्ने चर्चा भइरहेका वेला डा. कोइरालाले यस्तो धारणा राखेका हुन्। खासगरी नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) गठबन्धन दल मिलेर चुनाव लड्नुपर्ने पक्षमा उभिएका छन्।