भारतले नेपाललाई दिने अनुदान घटायो
भारत सरकारले नेपाललाई दिने वार्षिक अनुदान रकम घटाएको छ।
भारतीय वित्त मन्त्री निर्मला सितारमणले सन् २०२२–२३ का लागि मंगलबार पेश गरेको युनियन बजेटले नेपाललाई दिने सहयोग भारु सात अर्ब ५० करोड (१२ अर्ब रुपैयाँ) मा सीमित गरेको हो।
गत वर्ष सन् २०२१–२२ को बजेट मार्फत भारतले नेपाललाई नौ अर्ब ९२ करोड भारु (१५ अर्ब ८७ करोड रुपैयाँ) सहयोग छुट्याएको थियो। यद्यपि, पछि नेपाललाई छुट्याएको सहयोग रकम भारु ६ अर्ब ५० करोड (रु. १० अर्ब ४० करोड) रहेको संसोधित अनुमान छ ।
भारतले दक्षिणएशियामा बाङ्लादेश र माल्दिभ्सलाई दिने सहायता रकम भने बढाएको छ। गत वर्ष बाङ्लादेशलाई दुई अर्ब भारु छुट्याइएकोमा यो वर्ष त्यसलाई बढाएर तीन अर्ब भारु पुर्याइएको छ। त्यसै गरी माल्दिभ्सलाई दिने सहयोग दुई अर्ब ५० करोड भारुबाट बढाएर तीन अर्ब ६० करोड भारु बनाइएको छ । तर, अफगानिस्तानलाई दिने सहयोग रकम घटाइएको छ।
भारतले छिमेकीहरूमध्ये सबैभन्दा धेरै सहयोग भुटानलाई गर्छ। भुटानलाई सन् २०२२–२३ मा २२ अर्ब ६६ करोड भारु सहयोग प्रस्ताव गरिएको छ। यो गत आर्थिक वर्षको भन्दा थोरै हो। गत वर्ष भुटानलाई ३० अर्ब भारु सहयोग छुट्याइएको थियो ।
दक्षिणएशियामा भारतले भुटानपछि सबैभन्दा धेरै सहयोग छुट्याउने मुलुक नेपाल हो।