राष्ट्रिय सभा सदस्यका लागि मतदान शुरू
राष्ट्रिय सभा सदस्यका लागि सातै प्रदेशमा मतदान शुरू भएको छ।
निर्वाचन आयोगका अनुसार, सातै प्रदेशका आठ मतदानस्थल र १४ मतदान केन्द्रमा बिहान ९ देखि मतदान शुरू भएको हो। सबै स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ।
प्रदेश १ मा स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि प्रदेश निर्वाचन कार्यालय र प्रदेश सभा सदस्यका लागि बाली संरक्षण प्रयोगशाला विराटनगरमा मतदान स्थल तोकिएको छ। त्यस्तै, मधेश प्रदेशमा महेन्द्रनारायण निधि भवन र बागमती प्रदेशका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह मतदानस्थल रहेको छ।
त्यस्तै, गण्डकी प्रदेशमा प्रदेश निर्वाचन कार्यालय पोखरा, लुम्बिनी प्रदेशका लागि दाङको कर्मचारी मिलन केन्द्र, कर्णाली प्रदेशमा सुर्खेतस्थित प्रदेश निर्वाचन कार्यालय र सुदूरपश्चिम प्रदेशका लागि धनगढीस्थित प्रदेश सभा भवनमा मतदानस्थलमा मतदान भइरहेको छ।
आगामी २० फागुनमा नेकपा (एमाले) का आठ, नेकपा (एकीकृत समाजवादी) का चार, नेकपा (माओवादी केन्द्र) का चार र नेपाली कांग्रेसका तीन राष्ट्रिय सभा सदस्यको पदावधि सकिंदै छ।
एमाले, कांग्रेस, माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदूर किसान पार्टी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका ४३ उम्मेदवार प्रतिस्पर्धामा छन्।
निर्वाचनमा प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता कायम छन्। निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ तथा स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १८ तय गरिएको छ।
निर्वाचनबाट सात महिला, तीन दलित, दुई अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र सात अन्य समूहका उम्मेदवार निर्वाचित हुनेछन्। आज मतगणना हुने निर्वाचन आयोगले जनाएको छ।