काठमाडौं मेडिकल कलेजका सञ्चालक शर्मालाई सिंहदरबारभित्रै मोसो
काठमाडौं मेडिकल कलेजका सञ्चालक सुनिल शर्मालाई शिक्षा मन्त्रालयमै मोसो दलिएको छ।
शिक्षामन्त्री देवेन्द्र पौडेलले शुक्रबार कलेज सञ्चालक शर्मा र विद्यार्थीसँग छलफल गरेका थिए। छलफल सकेर निस्केका वेला विद्यार्थीले मन्त्रालयको पहिलो तलामा मोसो दलेका हुन्।
मोसो दल्नेहरू माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को विद्यार्थी सङ्गठन अनेरास्ववियूका विद्यार्थी हुन्।
काठमाडौं मेडिकल कलेजमा चिकित्सा शिक्षा आयोगले तोकिएको शुल्कभन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीले आन्दोलन गर्दै आएका छन्।
लामो समयसम्म माग पूरा नभएपछि विद्यार्थीले सञ्चालक शर्मालाई मोसो दलेको अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले बताए। “उहाँले मेडिकल शिक्षामा जनताको छोराछोरी पढ्नै नसक्ने गरी कालो बाटो बनाउनुभयो, त्यही भएर उहाँलाई पनि कालो उपहार दिएका हौं,” पराजुलीले भने।
घटनापछि प्रहरीले अनरास्ववियूका उपमहासचिव महेश श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुनलाई नियन्त्रणमा लिएको छ।
यसैबीच छलफलपछि शिक्षा मन्त्रालयले चिकित्सा शिक्षा आयोग, काठमाडौं मेडिकल कलेज, नेपाल मेडिकल कलेजलाई पाँच बुँदे निर्णय गर्न/गराउन निर्देशन दिएको छ।