ओलीप्रति दाहालको कटाक्ष- आगोसँग खेल्दा बालुवाटारबाट बालकोट, सबै मुख्यमन्त्री चट्
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफूसँग जोरी खोज्दा प्रधानमन्त्रीसँगै सबै प्रदेशका मुख्यमन्त्री गुमाउनु परेको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले बताएका छन्।
शुक्रबार नेकपा मसाल (सम्पर्क केन्द्र)सँग एकताको घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले आफूले सुधार्ने कोशिश गरेको भए पनि एमाले अध्यक्ष ओली नुसध्रिएको जिकिर गरे। एमालेको एकता टुट्नुमा अन्य शक्तिको पनि हात रहेको उनको भनाइ थियो। “एमालेसँग गरिएको एकता हाम्रो चाहना हुँदाहुँदै पनि विविध शक्तिले अगाडि बढ्न दिएनन्,” उनले भने।
एकता टुटेपछि पनि एमाले अध्यक्ष ओलीलाई आगोसँग नखेल्न सचेत गराएको सुनाए। उनले आफूलाई आगोको संज्ञा दिए।
“मैले प्रतिनिधि सभामा माओवादी क्रान्तिकारी या कम्युनिष्ट क्रान्तिकारीलाई हल्का रूपले नहेरियोस् भनेको थिए। आगोसँग खेल्ने दुस्साहस नगर्न उचित हुन्छ भनेको थिएँ,” दाहालले थपे, “के भयो आगोसँग खेल्दा? बालुवाटारबाट बालकोट भयो, ६ वटै प्रदेशबाट मुख्यमन्त्री चट् भयो।”
त्यति वेला प्रदेश २ बाहेक ६ वटै प्रदेशमा नेकपाको सरकार थियो। अहिले एमाले ६ वटै प्रदेश सरकारबाट बाहिर रहेको छ। प्रदेश २ सहित सातै प्रदेशमा पाँच दलीय गठबन्धनले सरकार सञ्चालन गरिरहेको छ।
अझै पनि ओलीले धाकधम्की दिन नछोडेको उल्लेख गर्दै उनले अब निर्वाचनबाट जवाफ दिने बताए। “अहिले बडो धाकधम्की लगाएर त हिंडेका छन्, उनीहरूको त्यो धाकधक्की मात्रै हो,” एमाले अध्यक्ष ओलीको नाम नलिएर दाहालले भने, “आउने निर्वाचनमा देखिनेछ। कसको हालत के भयो, कसको हालत के हुनेछ।”
अब गम्भीर भएर सङ्गठन विस्तारमा लाग्न नेता तथा कार्यकर्तालाई आह्वान गरे। जनताको घरघरमा जान र गल्ती भएको ठाउँमा आत्मसमीक्षा गर्न आग्रह गरे।
“गत कालमा हामीबाट केही त्रुटि भएका छन् भने आत्मसमीक्षा गर्ने जनतासँग,” दाहालले भने, “हामीबाट केही भूल भयो, हामी सच्याउँछौं भनेर भरोसा दिलाइयो भने जनताले फेरि एक पटक हामीलाई विश्वास गर्नेछन्।”
अहिले माओवादीको सदस्य सङ्ख्या आठ लाख पुगेको उनको भनाइ थियो। अब राष्ट्रिय सम्मेलनपछि त्यसलाई १० लाख पुर्याउनुपर्ने उनले बताए।
माओवादीको राष्ट्रिय सम्मेलन ११ देखि १३ पुससम्म काठमाडौंमा हुँदै छ।