कस्तो बन्यो देउवाको पदाधिकारी टीम?
![कस्तो बन्यो देउवाको पदाधिकारी टीम?](https://www.himalkhabar.com/uploads/posts/800X600/deuwa_team_1639748851.jpg)
नेपाली कांग्रेसको १४औं महाधिवेशनले सभापति शेरबहादुर देउवाको नेतृत्वमा १३ सदस्यीय पदाधिकारी निर्वाचित गरेको छ।
कांग्रेस केन्द्रीय निर्वाचत समितिले २ पुससम्म सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीको मतगणनाको परिणाम सार्वजनिक गरिसकेको छ। जस अनुसार, सभापतिमा देउवा, दुई उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन्।
त्यस्तै, दुई महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन्। विभिन्न क्लस्टर अनुसार, आठ सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’, जीवन परियार, भीष्मराज आङदेम्बे, किशोरसिंह राठौर, महेन्द्र यादव, फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी र बद्री पाण्डे निर्वाचित भएका छन्।
कांग्रेसले समानुपातिक प्रतिनिधित्वका लागि विधानमै व्यवस्था गरेकाले पदाधिकारीमा पनि विविधता देखिएको छ। सहमहामन्त्रीमा आठ वटा क्लस्टरमा प्रतिनिधित्व प्रतिस्पर्धा गराएको थियो।
त्यसका आधारमा महिलाबाट उपाध्याय, दलितबाट परियार, आदिवासी जनजातिबाट आङदेम्बे, खस आर्यबाट राठौर, मधेशीबाट यादव, मुस्लिमबाट मन्सुर, थारूबाट चौधरी र पिछडिएको क्षेत्रबाट पाण्डे सहमहामन्त्री बनेका छन्।
उमेरका हिसाबले पनि नयाँ पुस्ताको बाहुल्य देखिएको छ। सभापति देउवा ७५ वर्षका छन्। उपसभापतिमा झण्डै २० वर्ष कान्छा खड्का र गुरुङ आएका छन्। खड्का ५३ र गुरुङ ५६ वर्षका भए।
त्यस्तै, महामन्त्री भने उपसभापतिभन्दा पनि कम उमेरका छन्। थापा ४५ वर्षका भए भने शर्मा ५१ वर्षका भए। सहमहामन्त्रीमा निर्वाचित कांग्रेस नेताहरू पनि चार-पाँच दशकको उमेरकै हाराहारीका छन्।
यस्तै, पदाधिकारीमा विभिन्न समूहबाट पनि नेता आएका छन्। उपसभापति खड्का देउवा पक्षका हुन् भने गुरुङ सभापतिका प्रत्याशी डा. शेखर कोइराला पक्षका हुन्।
महामन्त्रीमा भने देउवा पक्षका दुवै नेता प्रकाशशरण महत र प्रदीप पौडेल पराजित भएका छन्। महामन्त्री बनेका थापा डा.कोइराला पक्षबाट चुनाव लडेका थिए भने शर्मा सभापतिका प्रत्याशी प्रकाशमान सिंह पक्षबाट उम्मेदवार बनेका थिए।
सहमहामन्त्रीमा भने देउवा पक्षकै बाहुल्य छ। पिछडिएको क्षेत्रबाट आएका पाण्डे र दलिततर्फबाट आएका परियार डा. कोइराला पक्षका हुन् भने अन्य सबै देउवाको पक्षबाट चुनाव लडेका नेता हुन्।
कांग्रेस केन्द्रीय सदस्यमा पनि खुलासँगै विभिन्न क्लस्टरबाट केन्द्रीय कार्यसमितिमा आउने व्यवस्था गरिएको छ। पदाधिकारी बाहेक १२१ जना केन्द्रीय सदस्य आउनेछन्। केन्द्रीय सदस्यको मतगणना गर्न बाँकी छ।