चितवन कुरुक्षेत्र बन्दै छ : दाहाल
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनमा चितवन कुरुक्षेत्र बन्न लागेको बताएका छन्।
भरतपुरमा शनिबार प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै दाहालले सबैको नजर चितवनमा परेको बताए। “सबैको नजर चितवनमा परेको छ। कसैले माया गरेर, कसैले डाहा गरेर,” दाहालले भने।
आफूलाई हेरेर सबैले चितवनतिर नजर लगाएको उनको भनाइ थियो। “चितवन कुरुक्षेत्र बन्दै छ,” आगामी निर्वाचनलाई इङ्गित गर्दै दाहालले भने, “म भएकाले कसैले माया गरेर, कसैले रिस गरेर चितवनमा नजर लगाएका छन्।”
आफूले पनि चितवनको विकासमा ध्यान दिएको उनको भनाइ थियो। त्यसैले सबैको महाधिवेशन चितवनमा भइरहेको उनको जिकिर थियो।
गत साता चितवनमा सम्पन्न नेकपा (एमाले)को महाधिवेशन भने असफल भएको उनले बताए। मान्छेको भीडभाड गर्दैमा महाधिवेशन सफल नहुने उनको भनाइ थियो। महाधिवेशनले नयाँ विचार दिनुपर्ने दाहालले बताए।