राष्ट्र ब्यांकको ढुकुटीमा कति छ सुनचाँदी?
वार्षिक प्रतिवेदन मार्फत राष्ट्र ब्यांकको ढुकुटीमा रहेको सुनचाँदी सम्बन्धी विवरण सार्वजनिक गरिएको छ।
देशको मुद्रा व्यवस्थापन र नेपाल सरकारको केन्द्रीय ढुकुटीको सञ्चालन नेपाल राष्ट्र ब्यांकले गर्छ। राष्ट्र ब्यांकले देशको अर्थतन्त्रको आकार र नोटको सम्भावित मागलाई ध्यान दिएर विभिन्न दरका नोट निष्कासन गर्छ।
त्यसरी नोट निष्कासन गर्न जति मूल्य बराबरको नोट छाप्ने हो, सोही अनुसारको सुरक्षण (धितो) राख्नुपर्छ। सुन, चाँदी, विदेशी विनिमय, विदेशी धितोपत्र आदि सुरक्षणका रूपमा रहन्छन्।
राष्ट्र ब्यांकको ढुकुटीमा सुनचाँदीको मौज्दात रहन्छ। नोट निष्कासनका लागि सुरक्षण राख्नुपर्ने भएकाले पनि सुनचाँदी आवश्यक पर्छ। ब्यांकको टक्सार विभागले सुनचाँदीका असर्फी र सिक्का पनि बेच्छ। राष्ट्र ब्यांकले आवश्यक परेका वेला सुनचाँदी बिक्री पनि गर्छ। गत वर्ष पशुपतिमा सुनको जलहरी राख्न राष्ट्र ब्यांकले १०८ किलोग्राम सुन उपलब्ध गराएको थियो।
राष्ट्र ब्यांकको गत आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन अनुसार, गत असारसम्म केन्द्रीय ब्यांकमा सयौं किलो सुन मौज्दात छ। राष्ट्र ब्यांकको मुख्य भण्डारमा एक हजार ९५३ किलो सुन छ।
यस बाहेक सिक्का, असर्फी आदिका लागि छुट्टै ५६४ किलो सुन पनि राखिएको छ। राष्ट्र ब्यांकले विदेशमा सुनमा पनि लगानी गरेको छ। पेपर गोल्ड भनिने यस्तो लगानी पाँच हजार ८६३ किलो सुन बराबर छ।
राष्ट्र ब्यांकको वित्तीय व्यवस्थापन विभागका कार्यकारी निर्देशक मुकुन्दकुमार क्षेत्रीले त्यस्तो सुन भौतिक रूपमा नभएर लगानीका रूपमा हुने र नेपाललाई चाहिएको बखत भौतिक रूपमा नै सुन उपलब्ध हुने बताए। यी सबै जोड्दा राष्ट्र ब्यांकसँग आठ हजार ३८० किलो सुन छ।
त्यसै गरी, राष्ट्र ब्यांकको मुख्य भण्डारमा एक लाख २१ हजार ५२२ किलो चाँदीको मौज्दात छ। यस बाहेक चाँदीका सिक्का आदि निष्कासनका लागि छुट्टै तीन हजार ३७ किलो चाँदी पनि राष्ट्र ब्यांकसँग छ।