हाम्रो उत्तरी सिमानामा मातृका कोइरालाले भारतलाई सैनिक चेक पोस्ट राख्न दिए : ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले २००८ सालमा उत्तरी सिमानामा भारतलाई सैनिक पोस्ट राख्न दिएसँगै नेपालको राष्ट्रिय स्वाधीनतामा हमला भएको जिकिर गरेका छन्।
चितवनमा जारी एमालेको १०औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रलाई शनिबार साँझ सम्बोधन गर्दै ओलीले यस्तो धारणा राखेका हुन्। पूर्व प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस नेतृत्वको सरकारले त्यति वेलै राष्ट्रिय स्वाधीनतामा हमला गरेको आरोप लगाएका छन्।
“२००८ सालमा प्रधानमन्त्री बनेको तीन दिनपछि मातृका कोइराला दिल्ली गए र माघ ११ गते फर्किंदा नेपालको उत्तरी सिमानामा दक्षिणी छिमेकी भारतका १७ वटा मिलिटरी चेकपोस्ट राख्न दिने सम्झौता गरे,” ओलीले भने, “उनले राष्ट्रियता, स्वाधीनता र स्वाभिमानमा हमला गरेर फर्किए, त्यति वेलै हाम्रो पार्टीले त्यसको विरोध गर्यो।”
त्यति वेलादेखि नेपाली भूमिमा अड्डा जमाएर बसेका भारतीय सुरक्षाकर्मी २०२६ सालमा हटेका थिए।