सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरू
नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशनको बन्द सत्र चितवनको सौराहामा शुरू भएको छ।
आज बिहानै बन्द सत्र सञ्चालन गर्ने कार्यतालिका रहेको भए पनि सहमतिका लागि प्रयास गर्दा ढिलाइ भएको एमाले नेताहरूले जनाएका छन्। सौराहाको होटल सेभन स्टार परिसरमा शुरू भएको बन्द सत्रमा विदेशी पाहुनाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
यससँगै बन्द सत्रले समसामयिक प्रस्ताव पनि पारित गर्ने जनाइएको छ। त्यस्तै, शुक्रबार बसेको एमाले केन्द्रीय कमिटीले गरेको विधान संशोधनमाथि पनि बन्द सत्रमा छलफल हुने भएको छ।
बन्द सत्र सकिएसँगै निर्वाचन कार्यक्रम पनि शुरू हुनेछ। सहमति हुन नसकेमा आजै उम्मेदवारको मनोनयन दर्तादेखि अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ।
त्यसपछि आइतबार बिहानदेखि मतदानको कार्यक्रम रहेको एमालेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। एमालेको महाविधेशन शुक्रबार नारायणी नदी किनारमा उद्घाटन गरिएको थियो।