जनगणनाको प्रारम्भिक नतीजा तीन महीनाभित्र, जन्मदर औसतभन्दा कम
राष्ट्रिय जनगणना २०७८ को मूल गणना सकिएको छ। प्रत्येक १०/१० वर्षमा गरिंदै आएको जनगणनाको १२औं शृङ्खला २५ कात्तिकदेखि ९ मंसीरसम्म सञ्चालन गरिएको थियो।
शुक्रबार केन्द्रीय तथ्यांक विभागले पत्रकार सम्मेलनको आयोजना गर्दै कुनै बाधा अवरोध विना गणना सम्पन्न भएको जानकारी गराएको हो।
विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले तीन महीनाभित्र जनगणनाको प्रारम्भिक नतीजा सार्वजनिक गरिने जानकारी दिए। २०६८ सालको गणनामा गरिएको प्रक्षेपण र हाल गरिएको घरपरिवार गणनाको आधारमा २ करोड ८० लाख देखि ३ करोडसम्म जनसङ्ख्या पुग्ने अनुमान रहेको श्रेष्ठले बताए।
विभागले जन्मदर औसतभन्दा मुनि हुने अनुमान गरेको छ। औसत २.१ हुनुपर्नेमा २.० रहेको महानिर्देशक श्रेष्ठले बताए। अर्थात् हाल प्रत्येक १० महिलाले २० जना बच्चा जन्माउने गरेका छन्। औसतमा यो तथ्याङ्क २१ हुनुपर्ने हो।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश नम्बर २ मा चाहिं जन्मदर औसतभन्दा माथि छ। सबैभन्दा कम बागमती प्रदेशमा १.४ मात्र छ।
यो जनगणनामा राउटे समुदायदेखि घरबारविहीनहरूको पनि तथ्याङ्क सङ्कलन गरिएको छ। छुटेकाहरूलाई ११७८ मा सम्पर्क गरेर १५ गतेभित्र विवरण टिपाउन पनि विभागले अनुरोध गरेको छ।
तस्वीर स्रोतः तथ्याङ्क विभाग
मंसीर महीनाभित्र जिल्लाको विवरण केन्द्रमा आइपुग्ने र त्यसपछि डाटा इन्ट्रीको काम शुरू गरिने महानिर्देशक श्रेष्ठले बताए। उनले भने, “एक वर्षदेखि तथ्याङ्क आउन शुरू हुने र दुई वर्षभित्र गणनाको सम्पूर्ण तथ्याङ्क सार्वजनिक गरिनेछ।”
समुदायस्तरबाट घरपरिवार सङ्ख्याको गणना गरिएको भए पनि लिपुलेक, लिम्पियाधुरा र कालापानीको जनगणना भने गरिएको छैन।
गणनाका लागि देशभर ४० हजार गणक र ८ हजार ५०० सुपरिवेक्षक खटेका थिए।