सर्वोच्चका सबै न्यायाधीशको राजीनामा : ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको विवाद समाधान गर्न सबै न्यायाधीशले राजीनामा दिनुपर्ने तर्क गरेका छन्।
मंगलबार सम्पादकहरूसँगको छलफलमा अध्यक्ष ओलीले प्रधानन्यायाधीशले मात्रै राजीनामा दिएर समस्या समाधान नहुने बताए। “अमुक व्यक्ति, फलानो हटिदिएपछि यो सिलसिला अन्त्य होला जस्तो लाग्दैन,” ओलीले भने, “म त सबैले राजीनामा गर्नुपर्ने खालको अवस्था देख्छु।”
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मन्त्रिपरिषद्मा भागबण्डा खोजेको भन्दै सर्वोच्च अदालतका न्यायाधीश र कानून व्यवसायीले राजीनामाको माग गर्दै आएका छन्। नेपाल बार एसोसिएशनले तीन सातादेखि सर्वोच्च परिसरमा विरोध प्रदर्शन गर्दै आएको छ।
वरिष्ठ अधिवक्ता र अधिवक्ताले सर्वोच्च अदालत परिसरमै भाषण गरेर भ्रष्टाचार हुने गरेको, सेटिङमा फैसला हुने गरेको खुलासा गरेको ओलीको भनाइ थियो। न्यायाधीशहरूले समेत सर्वोच्चमा भ्रष्टाचार हुने गरेको भाषण गरेको उल्लेख गर्दै प्रधानन्यायाधीश जबराले मात्रै राजीनामा दिएर समस्या समाधान नहुने उनको जिकिर थियो।
“उहाँ (न्यायाधीश)हरूप्रति प्रश्न उठिसकेपछि, सेटिङमा फैसला गरिसकेको देखिइसकेपछि उहाँहरूले त राजीनामा गर्नुपर्ने,” एमाले अध्यक्ष ओलीले भने, “फलानोले राजीनामा गर्दा हुन्छ भन्ने जस्तो कुराले न्यायिक क्षेत्रको प्रदूषण हट्ला जस्तो मलाई लाग्दैन।”
एमाले न्यायालय स्वतन्त्र होस् भन्ने पक्षमा रहेको ओलीले बताए। न्यायालय जनताको आस्था र विश्वासको केन्द्र बन्नुपर्ने उनको भनाइ थियो।
एमालेको १०औं राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा अध्यक्ष ओलीले सम्पादकहरूसँग छलफल गरेका हुन्। एमाले महाधिवेशन १० देखि १२ मंसीरमा चितवनमा हुँदै छ।