माधव नेपालको पार्टी नै होइन, त्यसैले निम्ता गरेनौं : ओली
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी नै नभएकाले महाधिवेशनमा निम्ता नगरेको बताएका छन्।
अध्यक्ष ओलीले मंगलबार सम्पादकहरूसँग छलफल गरेका थिए। छलफलका क्रममा नेपाल नेतृत्वका नेकपा (एकीकृत समाजवादी) लाई महाधिवेशनमा निम्ता किन नगरिएको भनेर प्रश्न गरिएको थियो।
एमालेको १०औं राष्ट्रिय महाधिवेशन १० देखि १२ मंसीरमा चितवनमा हुँदै छ। महाधिवेशन उद्घाटन समारोहमा विभिन्न दललाई निमन्त्रणा गरिएको छ। तर, नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई भने महाधिवेशनमा निमन्त्रणा गरिएको छैन।
त्यसको जवाफमा अध्यक्ष ओलीले नेपाल नेतृत्वको पार्टीलाई मान्यता नदिएको बताए। “माधव नेपाललाई र माधव नेपालले नेतृत्व गरेको निष्कासित व्यक्तिहरूको गुटलाई नेकपा (एमाले)ले पार्टी भनेर मान्न सक्ने स्थिति रहेन,” ओलीले भने, “पार्टी नै होइन भने पार्टी भनेर निम्ता गर्ने कुरा भएन।”
एमालेका पूर्व महासचिव नेपाललाई व्यक्तिगत रूपमा पनि निमन्त्रणा दिइएको छैन। यसमा विषयमा पनि बोल्दै अध्यक्ष ओलीले एमाले महाधिवेशनमा पार्टीलाई निम्ता गरिएको र व्यक्ति कसैलाई पनि निम्ता नगरिएको बताए।
पत्रकार र कलाकारलाई बोलाएको भए पनि अन्य कसैलाई पनि व्यक्तिगत रूपमा निमन्त्रणा नदिइएको उनको भनाइ थियो। “पार्टी बाहेक हामीले व्यक्तिलाई छानेर निमन्त्रणा गरिरहेका छैनौं,” ओलीले भने।