प्रतिनिधि सभाका १४९ क्षेत्रमा कांग्रेसको अधिवेशन हुँदै
प्रतिनिधि सभाका १४९ निर्वाचन क्षेत्रमा आज नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै छ।
प्रतिनिधि सभाका १६५ क्षेत्रमध्ये १६ निर्वाचन क्षेत्रमा यसअघि नै कांग्रेसले अधिवेशन गरिसकेको छ। आज ६० जिल्लाका १४९ क्षेत्रमा अधिवेशन हुन लागेको हो।
एउटा क्षेत्रबाट कम्तीमा २५ जनाका दरले महाधिवेशन प्रतिनिधि चयन हुने केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए। १४औं महाधिवेशनका लागि १८ भदौमा वडा अधिवेशन प्रारम्भ भएको थियो। अहिलेसम्म स्थानीय तह र प्रदेश सभा क्षेत्रको क्षेत्रीय अधिवेशन भएको छ।
अब प्रतिनिधि सभाको एउटा मात्रै निर्वाचन क्षेत्र भएको जिल्लामा जिल्ला अधिवशेन ६ मंसीरमा तय गरिएको छ। त्यसपछि प्रतिनिधि सभाको एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा जिल्ला अधिवशेन १० मंसीरमा हुनेछ।
त्यससँगै १६ र १७ मंसीरमा प्रदेश अधिवेशन हुनेछ। कांग्रेसको १४औं महाधिवेशन २४ देखि २६ मंसीरमा काठमाडौंमा हुने तय भएको छ।