उपाध्यक्ष रावलले १० देखि १२ मंसीरमा चितवनमा हुने १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षको उम्मेदवार बन्ने घोषणा गरेका छन्। उनले त्यसका लागि आफूलाई सघाउन अध्यक्ष ओली सहित नेता तथा कार्यकर्तालाई आह्वान गरेका हुन्।
यसअघि अध्यक्ष ओलीले गरेको दोस्रो पटक अध्यक्षमा उम्मेदवारी नदिने घोषणाको सम्मान गर्न आफू अघि सरेको रावलले जनाएका छन्। “उहाँ (ओली) स्वयंले केही समय पहिले पार्टीको नेतृत्व हस्तान्तरण गर्ने र पुनः अध्यक्ष पदमा प्रतिस्पर्धा नगर्ने घोषणा पनि गर्नुभएको हो। उहाँको यस्तो कार्य र घोषणाको सम्मानका लागि पनि उमेर र अनुभव लगायत सबै दृष्टिबाट परिपक्व भइसकेकाले मैले केन्द्रीय कमिटीको अध्यक्ष पदका लागि अग्रसर हुनु उचित सम्झेको छु,” रावलले भनेका छन्।
आफूले अध्यक्ष पद जितेमा ओलीको अनुभवको सदुपयोग गर्ने पनि बताएका छन्। “मैले अध्यक्ष पदको जिम्मेवारी पाएँ भने उहाँ (ओली)को महत्त्वपूर्ण अनुभव, ज्ञान र दक्षतालाई जहिले पनि पार्टीको विकास, विस्तार र सफलताका लागि सदुपयोग गरिरहन म सदा तत्पर रहनेछु,” रावलले भनेका छन्, “अतः मेरो अध्यक्ष पदको उम्मेदवारीलाई सहज रूपमा लिई पार्टीलाई नयाँ गतिका साथ अघि बढाउन मप्रति सद्भाव प्रदर्शन गर्नुहुन कमरेड केपी शर्मा ओली एवं सबै नेतृत्व तहमा रहनुहुने कमरेडहरू समक्ष हार्दिक आह्वान गर्दछु।”
अध्यक्ष पदमा मेरो उम्मेदवारी किन?
पहिलो समाजवादी क्रान्तिबाट स्थापित सोभियत संघ ढल्दै गरेको वेला काठमाडौंमा नेकपा (एमाले)को पाँचौं राष्ट्रिय महाधिवेशन हुँदै थियो। राष्ट्रिय महाधिवेशनमा जननेता मदन भण्डारीको अगुवाइमा नेकपा (एमाले)को कार्यक्रम जनताको बहुदलीय जनवाद पारित भयो। यस कार्यक्रमले राष्ट्रिय हित, सुरक्षा र देशभक्ति, बहुलवाद र प्रतिस्पर्धात्मक राजनीति, कानूनको शासन र सुशासनलाई विशिष्ट विशेषताका रूपमा अङ्गीकार गर्यो।
यसैको राजनीतिक र सङ्गठनात्मक मार्गनिर्देशनमा नेकपा (एमाले) निरन्तर सुदृढ हुँदै गयो। छैटौं राष्ट्रिय महाधिवेशन लगत्तै २०५४ मा नेकपा (एमाले) मा विभाजन भए पनि यो पार्टी, नेकपा (माओवादी) र राज्यका बीचको हिंसात्मक द्वन्द्व र निरंकुशतन्त्रद्वारा सिर्जित प्रतिकूल स्थितिमा पनि सङ्गठनात्मक रूपमा क्रियाशील रहँदै देशव्यापी रूपमा सशक्त रूपमा सक्रिय रह्यो। २०७५ साल जेठ ३ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का बीच पार्टी एकीकरण भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थापनापश्चात् भने यो पार्टी आन्तरिक अन्तरविरोध र मतभेदको भुमरीमा पर्न थाल्यो।
उच्च कार्यकारी अधिकारयुक्त तथा संस्थापन पक्ष मानिने नेतृत्वदायी व्यक्तिहरू नै चरम गुटबन्दीमा निर्लिप्त भएको देखियो। एकीकरण हुुनुपूर्व दुई पार्टीले एकताबद्ध हुने घोषणाका साथ चुनावमा संयुक्त उम्मेदवारी दिएर केन्द्रमा झण्डै दुई तिहाइको सरकार र सात प्रदेशमध्ये ६ प्रदेशमा बहुमतको सरकार सञ्चालन गर्ने महत्त्वपूर्ण ऐतिहासिक अवसर प्राप्त भए पनि त्यसको पूर्ण सदुपयोग हुन सकेन। नेपाल कम्युनिष्ट पार्टीमा विगतमा देखिएका फुटका शृङ्खलाहरूलाई अब दोहोरिन दिइनेछैन भन्ने नेतृत्वका वाचाहरू पानीको फोका जस्तै भए।
जनताले ठूलो विश्वास र भरोसाका साथ दिएको मतको संरक्षण गर्दै जनआकाङ्क्षा पूरा गर्नेतर्फ दत्तचित्तका साथ लाग्नुपर्नेमा पार्टीको उच्च तह सचिवालयमा पद र अवसरको भागबण्डा बाहेक राष्ट्रिय तथा सङ्गठनात्मक महत्त्वका विषयमा गम्भीर छलफल हुने तत्सम्बन्धमा सुविचारित निर्णय लिने काम हुन सकेन। पार्टीको विधान, पद्धति, कार्यक्रम र सिद्धान्तलाई सत्ता र शक्तिको बलिवेदीमा आहूति दिइयो। यस्तो स्थितिमा परिवर्तन गर्दै नेताहरूको बीचमा समझदारी गरी पार्टी एकता बचाउनका लागि २०७७ साल साउन ३० गते कार्यदल गठन भयो र त्यसले भदौ ६ गते प्रतिवेदन प्रस्तुत गर्यो।
प्रतिवेदनलाई भदौ २६ गते बसेको स्थायी कमिटीको बैठकले अनुमोदन गर्यो र त्यसको कार्यान्वयनका लागि भदौ २९ गते अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा हस्ताक्षरित अन्तरपार्टी निर्देशन–५ जारी भयो। तर, नेतृत्वले नै उक्त निर्देशनको अवज्ञा गर्यो। स्थायी कमिटीबाट सर्वसम्मत निर्णय भई जारी अन्तरपार्टी निर्देशनमा “हामी पार्टीभित्रको तिक्ततापूर्ण अन्तरविरोधलाई व्यवस्थापन गर्न, पार्टी एकताको रक्षा गर्न र पार्टीलाई राष्ट्रिय अभिभारामा केन्द्रित गर्न समर्थ भएका छौं” भनी गरिएको घोषणालाई लत्याइयो।
प्रतिनिधि सभा दुई–दुई पटक विघटन भई पार्टीलाई मत दिने जनतामा आघात पुग्यो। सत्तास्वार्थका लागि जोसँग साँठगाँठ गरे पनि हुने, जस्तो गठबन्धन गरे पनि हुने, जे गरे पनि हुने र जे भने पनि हुने अत्यन्त गलत प्रवृत्ति नेतृत्व तहमा नै झाङ्गिंदै गयो। फलस्वरूप तीन वर्ष पुग्दानपुग्दै २०७७ साल फागुन २३ गते, सर्वोच्च अदालतको फैसलाबाट नेकपा विघटन भई नेकपा (एमाले) पुनर्जीवित भएपछि यस पार्टीलाई फेरि सुसङ्गठित रूपमा अगाडि बढाउने दायित्व नेतृत्वमा आएको थियो। तर, त्यसो नभई पार्टीमा पुुनः नयाँ चरण र स्वरूपको मतभेद, विवाद र समस्या उत्पन्न भयो र अन्तरविरोध चर्कंदै गयो।
त्यसको समाधानका लागि शीर्ष नेतृत्व तहको सहमति अनुसार गठित कार्यदलले २०७८ साल असार २७ गते पार्टीलाई एकताबद्ध रूपमा अगाडि बढाउन १०–बुँदे सिफारिश प्रतिवेदन तयार गरी नेतृत्व समक्ष प्रस्तुत गर्यो। सहमतिको कार्यान्वयनका लागि अनेकौं प्रयास र वार्ता भए। यी सबै प्रयास र वार्ता शीर्ष तहमा कायम नेतृत्वको टकरावका कारण सार्थक हुन सकेनन्। यसरी पटक पटक पार्टीको विधि, पद्धति र एकता कायम गर्न गरिएका निर्णय र प्रयासलाई निरर्थक बनाइयो।
परिणामस्वरूप पुनर्जीवित नेकपा (एमाले)बाट पनि २०७८ साल साउन १० गते एउटा पङ्क्ति फुटेर नयाँ पार्टी स्थापना गर्ने बाटोमा लाग्यो। संघीय सरकार र सबै प्रदेश सरकारबाट नेकपा (एमाले) बाहिरियो। कसैको पनि योग्यता, क्षमता र दक्षता समस्याहरूको समाधान, अन्तरविरोधहरूको व्यवस्थापन गर्दै फराकिलो सोचका साथ राष्ट्र, जनता र पार्टीलाई एकताबद्ध तुल्याउने तथा प्राप्त उपलब्धिहरूको संरक्षण गर्दै थप उपलब्धि हासिल गर्नेमा प्रकट हुन्छ भन्ने कुरा विचारणीय छ।
फुटेर गएको समूहले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) समेतसँग सहकार्य गर्दै प्रदेश सरकारमा सहभागिता कायम गर्यो। पाँच दलीय गठबन्धनबाट बनेको सरकार र सहकार्य निर्वाचनमा समेत जारी राख्ने कुरा गर्दै समन्वय समिति बनाइएको कुरा सार्वजनिक भएको छ। यस्ता राजनीतिक घटना र परिघटनालाई नेकपाको विघटन र नेकपा (एमाले)मा उत्पन्न समस्या र फुटको असरको सन्दर्भमा समेत राखेर विश्लेषण गर्नुपर्दछ। कहाँ, कसको र कुन किसिमको त्रुटि, कमी र कमजोरीबाट उक्त किसिमको अप्रिय तथा देश र जनताका लागि नोक्सानदायी परिस्थितिको सिर्जना भयो भन्नेतर्फ ठण्डा दिमाग र आग्रहरहित किमिसले सोच्नु र विश्लेषण गर्नु आवश्यक छ।
उपर्युक्त पृष्ठभूमि र परिस्थितिमा हुन गइरहेको नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशन पार्टीलाई एकताबद्ध, सुसङ्गठित र समयका चुनौतीहरूको सामना गर्न सक्ने गरी क्रियाशील तुल्याउन अत्यन्त महत्त्वपूर्ण छ। गत असोज महीनामा सम्पन्न विधान महाधिवेशनबाट पार्टीको विधान लगायत राजनीतिक र सङ्गठनात्मक दस्तावेजहरू पारित भए पनि त्यसमा उल्लिखित विषयहरूलाई प्राथमिकीकरण गर्दै कार्यान्वयन गर्न तदनुकूलको नेतृत्व अपिरहार्य हुन्छ भन्ने अनुभवहरूबाट सिद्ध कुरा हो।
यस अर्थमा नेतृत्व चयनको विषयले दीर्घकालीन महत्त्व राख्दछ। यस्तो यथार्थलाई मनन गरी महाधिवेशनलाई पार्टीको आन्तरिक एकता, पारस्परिक विश्वास र समझदारी स्थापित गर्ने अवसरका रूपमा लिनु बुद्धिमानी हुन्छ। तर, पार्टी एकताका लागि भएको १०–बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि केन्द्रीय कमिटीको निर्णय बमोजिम जारी अन्तरपार्टी निर्देशन–१२ जसरी लागू हुनुपर्ने हो त्यसरी लागू नहुँदा उक्त किसिमको एकता, विश्वास र समझदारी स्थापित हुनमा व्यवधान सिर्जना हुन सक्ने आशङ्का विद्यमान छ।
यसले आगामी स्थानीय र आम निर्वाचनमा विपक्षीहरूसँगको प्रतिस्पर्धामा मात्र होइन पार्टी पङ्क्तिलाई सैद्धान्तिक, सङ्गठनात्मक र भावनात्मक रूपमा एकजुट बनाई सङ्गठनको विस्तार र सुदृढीकरण गर्दै फुट र विभाजनको दुश्चक्रबाट जोगाउने र वाञ्छित प्रतिफल हासिल गर्ने काममा समेत कुप्रभाव पार्न सक्छ।
नेकपा (एमाले)ले आन्तरिक रूपमा उपर्युक्त प्रकारको समस्या सामना गरिरहेको वेला राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिका तरङ्गहरू पनि प्रतिकूल प्रकृतिका देखिंदै छन्। देशभित्र कार्यपालिका अस्थिर हुने, व्यवस्थापिका निष्क्रिय रहने र न्यायपालिका आन्तरिक द्वन्द्व, अराजकता र नैतिक मूल्यबाट स्खलित हुने स्थिति देखिएको छ। शक्ति पृथकीकरण तथा संविधान र लोकतन्त्रका कतिपय स्थापित मूल्य–मान्यताहरू भत्किंदै वा भत्काइंदै छन्। राज्य र राजनीतिमा भ्रष्टाचार, अनियमित र स्वेच्छाचारी क्रियाकलाप बढिरहेका छन्।
राजनीतिक दलहरू मतभेद, फुट र द्वन्द्वको कुचक्रमा फसिरहेका देखिन्छन्। कानूनी शासन र राष्ट्रिय हित अनुकूल समग्र राज्य संयन्त्र परिचालिन हुुनुपर्ने सन्दर्भमा गम्भीर विचलन र समस्या प्रकट भइरहेका छन्। जनताको दैनिक जीवन र सरोकारका विषयको सम्बोधन गर्नेभन्दा राज्य र राष्ट्रिय राजनीति स्वार्थपरक मतभेद र अन्तरविरोधमा रुमलिरहे झैं देखिन्छ। यही स्थितिमा देशका भूभागहरू बाह्य अतिक्रमणमा परेका छन्। नेपालको राजनीतिक, आर्थिक, सांस्कृतिक, सामाजिक र शैक्षिक क्षेत्रमा बाह्य घुसपैठ र हस्तक्षेप बढिरहेको छ।
नेपालको छरछिमेक र अन्तर्राष्ट्रिय राजनीति तथा परिवेशमा गम्भीर फेरबदल एवं शक्ति सङ्घर्षका सङ्केत र परिणाम समेत देखा पर्न थालेका छन्। एशिया–प्रशान्त क्षेत्र सामरिक र आर्थिक दुवै दृष्टिले शक्तिराष्ट्रहरूको प्रतिस्पर्धा तथा शक्ति विस्तारको क्षेत्र बन्दै गइरहेको छ। यसको प्रभाव नेपालको राजनीति, अर्थतन्त्र र सुरक्षा प्रणालीमा समेत पर्न थालेको देखिन्छ। शक्तिराष्ट्रहरूले आफूबीचको तीव्र प्रतिस्पर्धा र द्वन्द्वमा नेपाललाई उपयोग गर्न विकास, सुरक्षा र सहयोगका विभिन्न रणनीतिक र कार्यनीतिक तुरूपहरू प्रयोग गरिरहेको देखिन्छ।
यसलाई नेपालको आन्तरिक राजनीतिक खिचातानी र स्वार्थपरक खेलले प्रश्रय दिइरहेको छ। फलस्वरूप नेपालको अस्मिता र हितको दीर्घकालीन सुरक्षामा समेत खतरा उत्पन्न हुन सक्ने देखिंदैछ। यस्तो स्थितिमा नेपालका बारेमा नेपाल सरकार तथा नेपाली जनताले स्वयं सोच्ने एवं निर्णय गर्ने सार्वभौम अधिकार तथा मान्यतामा धक्का लागिरहेको छ र अझ बढी आघात पुग्न सक्ने देखिंदैछ। यस्तो स्थिति देश र जनताका लागि अत्यन्त हानिकारक हुने भएकाले यसप्रति गम्भीर भएर सोच्नु आवश्यक छ।
कोरोना महामारी (कोभिड–१९)ले अर्थतन्त्र र जनजीवनमा पारेको असर, प्राकृतिक प्रकोपबाट उत्पन्न समस्या, बढ्दो बेरोजगारी, महँगी जस्ता समस्यासँग जुझ्नका लागि ठोस नीति, कार्यक्रम र निर्णयका साथ राष्ट्रिय शक्तिहरू एकजुट भएर अघि बढ्नुपर्ने चुनौती देशका सामु छ। उपर्युक्त परिस्थितिलाई गम्भीर रूपमा मनन गर्दै मैले नेकपा (एमाले)को एकता कायम गर्न कार्यदलमा सक्रियता र इमानदारीका साथ काम गरें। पार्टीमा उत्पन्न अन्तरविरोध र समस्या समाधान गर्न कार्यदलको १०–बुँदे सिफारिश प्रतिवेदनको कार्यान्वयनमा जोड दिएँ।
मेरो यस्तो दृष्टिकोण झण्डै ५० वर्षको राजनीतिक जीवनमा विद्यार्थीकालदेखि पार्टीको बुद्धिजीवी क्षेत्र हुँदै केन्द्रीय कमिटी तथा संसदीय क्षेत्र एवं सरकारमा जिम्मेवारी वहन गरिरहँदा जहिले पनि राष्ट्रिय एकता, पार्टीको आन्तरिक एकता, अन्तरविरोध र द्वन्द्व व्यवस्थापनमा राख्दै आएको रुचि र खेल्दै आएको भूमिकाको निरन्तरता हो। नेकपा (एमाले)मा पछिल्लो समय उत्पन्न अन्तरद्वन्द्वको व्यवस्थापनका लागि पनि मैले पार्टी अध्यक्ष र अन्य नेताहरूसँग अनेकौं पटक वार्ता गर्नुका साथै मध्यस्थको समेत भूमिका निर्वाह गरें। तर, आफ्नो अख्तियारीको सीमाबन्धन र निर्णयाधिकारी अरू नै भएकाले वाञ्छित परिणाम हासिल गर्न सकिएन।
तर, पार्टीले थप क्षति बेहोर्नु नपरोस् तथा राष्ट्रिय राजनीति र देशका लागि गर्नुपर्ने कर्तव्य पूरा गर्न नेकपा (एमाले) सक्षम बनिरहोस् भन्ने भावनाका साथ मतभेद, द्वन्द्व र कटुताका सबै अवरोधहरूलाई बेवास्ता गर्दै म पार्टी एकताको पक्षमा र विभाजन तथा फुटको विपक्षमा उभिएको छु। यो कुनै पनि प्रकारको व्यक्तिगत स्वार्थ नराखी जनता र देशको उज्यालो भविष्य र सुरक्षाको एक मात्र लक्ष्य हृदयमा राखेर नै सम्भव भएको थियो।
तर, समाज र राजनीतिका कतिपय कुराहरू व्यक्तिको इच्छा वा आकाङ्क्षाभन्दा स्वतन्त्र रूपमा अगाडि बढ्छन् भने झैं नेकपा (एमाले) भित्रका कतिपय आयामहरू देश, जनता र पार्टीको बृहत्तर हितका लागि मैले सोचे अनुरूप भएनन् र भइरहेका छैनन्। तर, यसबाट मैले उदासीन, उत्तेजित, निराश, हतोत्साही र निष्क्रिय हुने कुरा हुन सक्दैन।
किनकि, सिद्धान्तनिष्ठ, विधि र पद्धतिसम्मत किसिमले सञ्चालित तथा जनता र देशको सर्वोपरि हितमा समर्पित सशक्त नेकपा (एमाले) केवल मेरो मात्र चाहना र सरोकारको विषय होइन, सिङ्गो पङ्क्ति र सबै देशभक्त लोकतन्त्रप्रेमी नेपालीहरूको चाहना र सरोकारको विषय हो। अतः यस पार्टीको सिर्जना, विकास, विस्तार र प्रगतिमा म लगायत हजारौं नेता, कार्यकर्ता र सदस्यहरूले बगाएको पसिना सधैं सार्थक बनिरहोस् भनेर पार्टी केन्द्रीय कमिटीको उपाध्यक्षको हैसियतले गम्भीर भएर सोच्नु र दृढ प्रयत्न गर्नु मेरो पनि कर्तव्य हो।
त्यसैले देश, जनता र पार्टीका सामु आज भएका र भोलि आउन सक्ने चुनौतीहरूको सामना गर्न, सबै सकारात्मक सम्भावनाहरूलाई उद्घाटित गर्दै वर्तमान प्रतिस्पर्धी विश्वमा शान्ति र मानवताका अग्रदूत गौतम बुद्ध जन्मेको, विश्वको अग्लो हिमाल सगरमाथा उभिएको तथा वीरता र परिश्रमका लागि प्रसिद्ध जनताको मातृभूमि नेपाललाई शिर ठाडो गरी समृद्धिको पथमा अग्रसर रहने तुल्याउन पार्टीलाई नेतृत्व दिने अठोट गरेको छु। मैले राजनीतिक जीवनको आरम्भदेखि नै उठाउँदै आएको पार्टीको विधि, पद्धति, उद्देश्य, लक्ष्य, देशभक्ति र सिद्धान्तको झण्डालाई निष्ठा र दृढताका साथ फहराइरहन अघि बढ्ने सङ्कल्प गरेको छु।
यही दृढ सङ्कल्पका साथ पार्टीको विधान महाधिवेशनबाट पारित दस्तावेजमा उल्लिखित र अनुल्लिखति वा स्पष्ट गर्नुपर्ने निम्न लिखित उद्देश्य, लक्ष्य र मान्यताका आधारमा २०७८ साल मंसीर १० देखि १२ गतेसम्म चितवन जिल्लामा हुने नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटीको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्दछु।
क) उद्देश्य र लक्ष्य
१) राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, एकता, स्वाधीनता, स्वाभिमान र समृद्धिका लागि समग्र राजनीतिलाई दिशा दिने र राष्ट्रिय शक्तिका सबै स्रोतहरूलाई त्यसतर्फ अभिमुख गराउने।
२) जनताको बहुदलीय जनवादका स्वच्छ प्रतिस्पर्धा लगायत राष्ट्रियता, समाजवाद र जनजीविकासँग सम्बन्धित उद्देश्य र लक्ष्य हासिल गर्न योगदान पुर्याउने। नेपालको संविधानले समेत आत्मसात् गरेको समाजवाद उन्मुख प्रणालीको प्राप्तिका लागि उत्पादनका साधन र उत्पादन प्रणालीलाई तदनुकूल तुल्याउन तथा दलाल नोकरशाही पूँजीवादको चङ्गुलबाट जनता र देशलाई मुक्त गर्न भूमिका निर्वाह गर्ने।
३) पार्टीको वैचारिक, राजनीतिक र नीतिगत धरातललाई अझ स्पष्ट र समय सापेक्ष बनाउनुका साथै आन्तरिक एकतालाई सुदृढ तुल्याउँदै पद्धतिसङ्गत सञ्चालनमा नेतृत्व प्रदान गर्ने। पार्टी गुट र उपगुटहरूबाट ग्रस्त रहने स्थितिलाई परिवर्तन गरी विषयवस्तु तथा गुण र दोषको आधारमा धारणा र मत प्रकट गर्न सक्ने स्थिति निर्माण गर्ने।
पार्टीमा देखिएका अन्तरविरोध र समस्याहरूको निराकरण गरी अन्य वामपन्थी दल, समूह र व्यक्तिहरूसँगको सहकार्यको वातावरण सिर्जना गर्ने। पार्टी एकीकरणदेखि नेकपाको विघटन, नेकपा (एमाले)मा उत्पन्न फुट तथा सरकार निर्माण र बहिर्गमन लगायत राजनीतिक घटना र प्रभाव समेतको वस्तुनिष्ठ समीक्षा गर्दै प्राप्त शिक्षालाई ग्रहण गर्ने।
४) राष्ट्रिय एकता तथा वामपन्थी पार्टी र समूहहरूबीचको एकता तथा पारस्परिक समझदारीमा अभिवृद्धि गरी राष्ट्रिय राजनीतिलाई देश र जनताको सर्वोपरि हितमा केन्द्रित गर्ने। लोकतान्त्रिक पार्टी र व्यक्तिहरूबीच देश र जनताको बृहत्तर हितका सम्बन्धमा समझदारी, सहकार्य र एकता कायम गर्न भूमिका खेल्ने।
५) पार्टी पङ्क्तिको सैद्धान्तिक, वैचारिक चेतना र ज्ञानलाई परिवर्तित राष्ट्रिय र विश्व परिवेश अनुरूप विस्तारित र पुनर्गठित गर्दै समस्या समाधान केन्द्रित अध्ययन, अनुसन्धान र उपायको खोजीलाई महत्त्वका साथ अगाडि बढाउने।
६) पार्टीमा उत्पन्न आन्तरिक अन्तरविरोध, समस्या र असमझदारीलाई व्यवस्थापन र समाधान गरी पार्टीलाई विधि, पद्धति र लोकतान्त्रिक प्रक्रियाबाट सशक्त रूपमा अगाडि बढाउँदै आगामी स्थानीय तथा आम निर्वाचनमा विजयको अग्रपङ्क्तिमा पुर्याउने।
७) नेपालको संविधान र जनताको बहुदलीय जनवादको मार्ग निर्देशन अनुरूप संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता र पञ्चशीलका सिद्धान्तहरूलाई आत्मसात् गर्ने स्वतन्त्र एवं राष्ट्रिय हितमा आधारित अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति सञ्चालनमा पार्टीको भूमिकालाई सशक्त बनाउने।
८) राष्ट्रिय र पार्टी राजनीतिलाई देशको विकास र उन्नति तथा जनताको आर्थिक समृद्धिका राष्ट्रिय हित अनुकूलका सबै सम्भावनाहरूको खोजी र सदुपयोगको दिशातर्फ डोर्याउने। केन्द्रदेखि स्थानीय तहसम्म भइरहेको भ्रष्टाचार र बेथिति एवं राजनीति र राज्य सञ्चालनमा व्याप्त भ्रष्टाचारका विरुद्ध कानूनी तथा जनमत परिचालन दुवै किसिमले अभियान चलाउने।
९) कोरोना विषाणुको महामारीबाट सिर्जित आर्थिक समस्याको समाधान तथा आर्थिक पुनरुत्थानका लागि ठोस कार्यक्रम र योजनालाई अगाडि बढाउने।
१०) जलवायु परिवर्तनका कारण अत्यन्त जोखिमयुक्त नेपालको अवस्थालाई गम्भीर रूपमा लिई त्यसबाट उत्पन्न हुने प्राकृतिक विपत्तिको न्यूनीकरण र सामना गर्नेतर्फ राष्ट्रिय जागरण सिर्जना गर्नुका साथै पार्टी र समग्र राष्ट्रिय राजनीतिलाई दिशानिर्देश गर्ने।
११) विगतमा भएका राष्ट्रिय हित प्रतिकूलका र असमान सन्धि–सम्झौताहरूको पुनरावलोकन गरी तिनको खारेजी वा विस्थापनका लागि ठोस योजनाका साथ काम गर्ने। नेपालको संविधान नागरिकता सम्बन्धी कानून ल्याउन तथा गैरनेपालीहरूलाई नागरिकता बाँडेर जनसङ्ख्याको राजनीतिद्वारा नेपालको अस्मिता र स्वाधीनतामा आँच पुर्याउने कार्यलाई रोक्न अग्रसर रहने।
१२) नेपालको कूटनीतिक क्षमता वृद्धिलाई राष्ट्रिय विकास र सुरक्षाको महत्त्वपूर्ण क्षेत्रका रूपमा उच्च महत्त्व दिई त्यसका लागि सबै सम्भव उपाय र स्रोतको सदुपयोग गर्ने।
ख) मान्यता
१) वर्तमान विश्वका अधिकांश सार्वभौम र स्वतन्त्र देशका राजनीतिक दल र नेताहरूले आफ्नो राष्ट्रिय स्वतन्त्रता, स्वाभिमान र हितलाई सर्वोपरि राखे झैं नेपाल सरकार, राजनीतिक दल र नेताहरूले राष्ट्रिय स्वाधीनता, स्वाभिमान, सुरक्षा र हितलाई सर्वोपरि राखेर काम गर्ने। नेपालको संविधान, मौलिक सभ्यता, संस्कृति र इतिहासको संरक्षण र संवर्द्धन गर्ने।
२) जनशक्ति लगायत देशको सबै साधन र स्रोतलाई राष्ट्र हितमा पूर्ण सदुपयोग र परिचालन गर्ने। आफ्नो देश र जनताको हितको पक्षमा उभिंदा कोही खुशी नहोला कि भन्ने मानसिकताबाट पूर्णतः मुक्त रही क्रियाशील रहने। आफ्नो देशको पक्षपोषण गर्नु अरू कसैको विरोध गर्नु वा कसैप्रति अमैत्री हुनु होइन भन्नेमा सबैलाई स्पष्ट तुल्याउने।
३) इतिहासको उत्तरदानका रूपमा रहेका नेपालको स्वाधीनता, स्वाभिमान र हितमा आँच पुर्याउने असमान सन्धि–सम्झौताबाट मुक्त हुनुका साथै त्यस्ता किसिमका सन्धि–सम्झौता नहुने र हुन नदिने दिशामा दृढताका साथ अग्रसर रहने। सबै मित्रराष्ट्रहरूसँग सुमधुर सम्बन्ध कायम गर्न सार्वभौमिक समानता, पारस्परिक हित र सम्मानको दिशामा कूटनीति सञ्चालन गर्ने। राजनीतिक दलहरूका बीच राष्ट्र र जनताको हितका विषयमा साझा धारणाका साथ सहकार्य गर्ने वातावरण निर्माण गर्न र परराष्ट्र नीतिमा समान विचार–दृष्टिकोणका साथ प्रस्तुत हुने स्थिति सिर्जना गर्न भूमिका खेल्ने।
४) नेपाली जनताको कष्टसाध्य अभ्यासबाट स्थापित नेपालको संविधान लोकतान्त्रिक प्रणालीलाई जनहित, सुशासन, विकास र समृद्धिको दिशामा सञ्चालन गर्ने।
५) राजनीतिक दललाई देशको कानून तथा दलका घोषित सिद्धान्त, कार्यक्रम, नीति र निर्णयको आधारमा सञ्चालन गर्ने। अधिवेशन र निर्वाचनमा गरिएका वाचा र प्रतिबद्धता विपरीत राजनीतिलाई सत्ता स्वार्थको खेलमा परिणत गर्ने गलत राजनीतिक संस्कृति, आचरण र व्यवहारको अन्त्यका लागि सक्रिय भूमिका निर्वाह गर्ने।
६) नेपाल कम्युनिष्ट पार्टीको स्थापनाकालदेखि नेकपा (एमाले) क्रियाशील रहेको वर्तमानसम्म पार्टीले अङ्गीकार गरेको मार्क्सवाद–लेनिनवादलाई नेपालको वस्तुस्थिति अनुरूप सिर्जनात्मक रूपमा लागू गर्ने विषयलाई पुनःपरिभाषित गर्दै समयका चुनौतीहरूको सामना गर्न सक्ने तथा देशको आवश्यकता र जनताको आकाङ्क्षा अनुरूप अगाडि बढ्ने। संसदीय निर्वाचनका सबै मोर्चामा नेकपा (एमाले)लाई राष्ट्रिय हितमा आधारित स्पष्ट दृष्टिकोणका साथ सशक्त रूपमा अगाडि बढाउँदै विजयी बनाउने र केन्द्र, प्रदेश र स्थानीय तहमा बहुमत प्राप्त गरी देशलाई निर्दिष्ट दिशामा दृढताका साथ नेतृत्व प्रदान गर्ने।
७) पार्टीलाई विधि, पद्धति, सामूहिक निर्णय र व्यक्तिगत जिम्मेवारीको प्रणाली अनुरूप सञ्चालन गर्ने। पार्टी कमिटी र जनसङ्गठनको सञ्चालन घोषित सिद्धान्त, पद्धति र लक्ष्य अनुरूप गर्ने र अन्तरविरोध तथा समस्याहरूको यथासमयमा समाधान गर्दै सङ्गठनलाई क्रियाशील र सशक्त तुल्याउने। शीर्ष कार्यकारी तहको नेतृत्व पङ्क्तिबाट नै गुटबन्दी हुने कार्यले पार्टीको शक्ति र प्रभावलाई कमजोर पार्दै अन्ततः फुटको दिशामा धकेल्ने तथ्यको पुष्टि भइसकेकाले गुटबन्दीबाट पार्टीलाई मुक्त गरी यसको समग्र क्षमताको सुदपयोग हुने र विषयवस्तुमा विवेकसम्मत किसिमले छलफल हुने स्थिति निर्माण गर्ने। निर्णय प्रक्रिया संस्थागत नहुने र केही व्यक्ति–समूह हुँदै व्यक्तिमा केन्द्रित हुने स्थितिको अन्त्य गर्ने।
८) व्यक्तिको मूल्याङ्कन र जिम्मेवारी प्रदान गर्ने कार्य, दिइएको जिम्मेवारी वहन गरी प्राप्त गरेको सफलता र उपलब्धि, योग्यता, क्षमता र इमानदारीको आधारमा गर्ने।
९) पार्टीको आम सिद्धान्त, कार्यक्रम र नीतिको आधारमा देशभक्तिको भावनाका साथ समसामयिक विषयमा स्पष्ट धारणा बनाई त्यसको कार्यान्वयन गर्न अग्रसर रहने। पार्टीले विगतदेखि अवलम्बन गर्दै आएको असमान सन्धि–सम्झौताको खारेजी र परिवर्तन, नेपालको जलस्रोत लगायत प्राकृतिक स्रोतहरूको नेपालको विकासमा सदुपयोग, नेपालका अतिक्रमित भूभाग र अन्तर्राष्ट्रिय कानून बमोजिम संरक्षण तथा नियमन गर्नुपर्ने सिमानाबारे राष्ट्रको रक्षा र सुरक्षालाई ध्यानमा राख्दै स्पष्ट धारणा सहित आम राष्ट्रिय दृष्टिकोणका साथ उपयुक्त पाइला चाल्ने, प्रशासन, सुरक्षा निकाय लगायत राज्यका सबै अङ्गहरूले राष्ट्रिय हित र स्वाधीनतालाई उच्च स्थानमा राखेर कर्तव्य निर्वाह गर्ने स्थिति सिर्जना गर्न क्रियाशील रहने।
१०) नेपाल सरकार र अमेरिकी संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सँग भएको सम्झौतामा रहेका राष्ट्रिय स्वाधीनता र हितमा आघात पुर्याउने प्रावधानहरू हटाउने र नहटाइने भए सम्झौता नै खारेज गर्ने। नेपालको हित, स्वाधीनता, परराष्ट्र नीति र सुरक्षामा आघात पुर्याउने प्रावधानहरूलाई नेपाल सरकार र जनतासामु स्पष्ट किसिमले राख्ने। मूल सम्झौतासँगै भएका कार्यान्वयन सम्झौता लगायत सम्झौताहरू संसद् र जन समक्ष पारदर्शी रूपमा ल्याउन भूमिका खेल्ने।
११) विशिष्ट र संवेदनशील भूराजनीतिक अवस्थितिमा रहेको नेपालको तत्कालीन र दीर्घकालीन हित र सुरक्षाप्रति सचेत रहँदै तदनुरूप राष्ट्रिय सुरक्षा नीतिको कार्यान्वयन गर्न र त्यस प्रयोजनका लागि सबै किसिमको राष्ट्रिय शक्तिको सुदृढीकरण र परिचालनका लागि क्रियाशील रहने।
१२) देशको समग्र राजनीति, अर्थतन्त्र (सबै क्षेत्रको विकास रणनीति समेत), संस्कृति र शिक्षालाई राष्ट्रिय विकास र हित अनुकूलको दिशामा अघि बढाउन सशक्त भूमिका निर्वाह गर्न पार्टीलाई नेतृत्व प्रदान गर्ने। पिछडिएका वर्ग, समुदाय र क्षेत्रको उत्थानलाई राष्ट्रिय विकासको महत्त्वपूर्ण आधारका रूपमा लिंदै सबै राष्ट्रिय एकताको आधारलाई बलियो बनाउने।
१३) सदस्यता वितरण, नवीकरण र प्रतिनिधि चयनमा पार्टीको विधान, पद्धति, मान्यता र असल परम्परा विपरीत सदस्यहरूको चुन्न र चुनिन पाउने सार्वभौम अधिकार कुण्ठित गर्ने क्रियाकलापहरू पुनः दोहोरिन नदिने। महाधिवेशन हुन ६ महीनाअघि सदस्यता प्राप्त व्यक्तिले मात्र प्रतिनिधि चुन्न र चुनिन पाउने लगायत पार्टी निर्देशन विपरीत प्रतिनिधि चयनको प्रक्रिया आरम्भ हुनु दुई दिन अघिसम्म सदस्यता वितरण गर्ने, प्रतिनिधिको निर्वाचनको प्रक्रिया आरम्भ नगर्ने, कुनै सहमति नभई र चुनावको काम नै नभई प्रतिनिधिको नाम मनपरी किसिमले घोषणा गर्ने जस्ता पार्टीको मर्यादामा आघात पुर्याई सङ्गठनलाई क्षति पुर्याउने किसिमका क्रियाकलाप हुन नदिने।
१४) मैले कम्युनिष्ट पार्टी र निरंकुश पञ्चायत विरोधी आन्दोलनमा समाहित भएदेखि शान्ति प्रक्रिया, संविधान निर्माण र पार्टी एकताका लागि विभिन्न कार्यमा संलग्न हुँदा निश्चित विचार, आदर्श, मूल्य–मान्यता, नीति र दृष्टिकोणका साथ आफूलाई उभ्याएको छु। यस्ता विषयहरूप्रति वर्तमान पार्टी पङ्क्तिका साथै आम जनता तथा भविष्यको पुस्तामा चेतना र सजगताको प्रसारण हुन सकेमा मेरो उम्मेदवारीको सार्थकता रहनेछ। यही सोचका साथ म अगाडि बढेकोे छु।
१५) पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले ७० वर्षको उमेरसम्म आइपुग्दा पार्टीको अध्यक्ष र देशको प्रधानमन्त्री समेत भई महत्त्वपूर्ण जिम्मेवारी वहन गरिसक्नुभएको छ। यस क्रममा उहाँले देश र जनताका लागि गर्न सक्ने काम आफ्नो सम्पूर्ण क्षमता, योग्यता, सक्रियता र लगनका साथ गर्दै रहेको देश र जनता सबैले देखिसकेका छन्। उहाँ स्वयंले केही समय पहिले पार्टीको नेतृत्व हस्तान्तरण गर्ने र पुनः अध्यक्ष पदमा प्रतिस्पर्धा नगर्ने घोषणा पनि गर्नुभएको हो।
उहाँको यस्तो कार्य र घोषणाको सम्मानका लागि पनि उमेर र अनुभव लगायत सबै दृष्टिबाट परिपक्व भइसकेकाले मैले केन्द्रीय कमिटीको अध्यक्ष पदका लागि अग्रसर हुनु उचित सम्झेको छु। पार्टीमा फुट भएको वेला अरूबाट परिस्थितिको सामना गर्न केही कठिनाइ हुन्छ कि भन्ने लागेको भए त्यसबारे ममाथि भरोसा गरी ढुक्क हुन उहाँलाई हार्दिक आग्रह गर्दछु।
साथै, मैले अध्यक्ष पदको जिम्मेवारी पाएँ भने उहाँको महत्त्वपूर्ण अनुभव, ज्ञान र दक्षतालाई जहिले पनि पार्टीको विकास, विस्तार र सफलताका लागि सदुपयोग गरिरहन म सदा तत्पर रहनेछु। अतः मेरो अध्यक्ष पदको उम्मेदवारीलाई सहज रूपमा लिई पार्टीलाई नयाँ गतिका साथ अघि बढाउन मप्रति सद्भाव प्रदर्शन गर्नुहुन कमरेड केपी शर्मा ओली एवं सबै नेतृत्व तहमा रहनुहुने कमरेडहरू समक्ष हार्दिक आह्वान गर्दछु।
माथि उल्लिखित पृष्ठभूमि, लक्ष्य, उद्देश्य र मान्यताका आधारमा नेकपा (एमाले)को नेतृत्व गर्दै यस पार्टीलाई सुदढ र प्रभावकारी तुल्याउने, प्रतिस्पर्धाका सबै मोर्चाहरूमा पार्टीलाई सफल र विजयी बनाउने तथा राष्ट्रिय राजनीतिको प्रमुख चालकका रूपमा अगाडि बढाउने दृढ अठोट गरेको छु। मैले विजय र पराजयको अर्थमा भन्दा आफ्ना धारणा र मान्यतालाई महत्त्व दिएको छु तथा कुनै व्यक्ति विशेषप्रति कुनै आग्रह राखेको छैन।
पार्टी एकताका लागि १०–बुँदे सहमति गरिरहँदा पनि मैले देश, जनता र पार्टीको हितका लागि अवलम्बन गर्दै आएको विचारकै पक्षपोषण गरेको हुँ, तिनलाई परित्याग गरेको छैन वा कहीं समर्पण गरेको छैन। कुनै पनि इमानदार पार्टी नेताले त्यसो गर्न पनि सक्दैन। यही विचार र मान्यता अनुरूप नै मैले आफ्नो उम्मेदवारीको घोषणा गरेकोे छु।
अतः केन्द्रीय कमिटीको अध्यक्ष पदमा मेरो उम्मेदवारीप्रति सहयोग र समर्थनका लागि नेकपा (एमाले)का सम्पूर्ण नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरूमा हार्दिक आह्वान गर्दछु। अध्यक्षको पदमा मलाई आफ्नो अमूल्य मत प्रदान गरी पार्टीलाई नयाँ चरणको प्रगति र सशक्त भूमिकामा अघि बढाउन तथा नेपाल र नेपाली जनताको आकाङ्क्षा, प्रगति र परिवर्तनको नेतृत्व गर्ने अवसर दिनुहुन सम्पूर्ण प्रतिनिधि कमरेडहरूलाई हार्दिक अनुरोध गर्दछु।