प्रहरी सीतापुल झरेपछि तिंकर नाका सुरक्षाविहीन
दार्चुलाको व्यास गाउँपालिकास्थित तिंकर छायालेकमा रहेको प्रहरी छांगरु झरेपछि चीनसँग सीमा जोडिएको नाका सुरक्षाविहीन बनेको छ। स्थानीय बासिन्दा बसाइँ नसरे पनि प्रहरी टोली भने चिसो छल्न छांगरु झरेको हो।
कात्तिक पहिलो साता आएको अविरल वर्षा र हिपातसँगै तिंकरको छायालेकस्थित प्रहरी टोली छांगरु झरेको जिल्ला कार्यालयका प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए।
हिमपातका कारण अत्यधिक जाडो बढेर पानी समेत खान नसकिने अवस्था भएपछि प्रहरी अहिले छांगरुमा बसेको उनको भनाइ छ। अहिले छांगरु र तिंकर प्रहरी नीतिकुण्डमै बसेका छन्।
त्यहाँका बासिन्दाले आगामी मङ्सीर पहिलो सातामात्रै सदरमुकाम खलङ्गा बसाइँसराइ (कुञ्चा) गर्ने तयारी भएको व्यास गाउँपालिका–१ का वडासचिव विनोदसिंह बुढाथोकीले जानकारी दिए। “बढी हिमपात भयो भने यो महीनाभित्रै कुञ्चा सर्ने सम्भावना छ, अस्ति दुई पटक हिमपात हुँदा आधा फिट हिउँ जमेको थियो,” बुढाथोकीले भने।
तिंकरमा रहेका प्रहरी जाडोयाममा बर्सेनि नजिकका अन्य युनिटमा सर्ने गर्छन्। अहिले प्रहरीका लागि छांगरु नीतिकुण्डमा पक्की भवन निर्माण गर्न थालिएको छ। तिंकरमा सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट (बीओपी)को भवन निर्माण भएको छ। तर, सशस्त्र प्रहरी बसेको छैन।
चीनसँग जोड्ने मार्गमा रहेको प्रहरी चौकी भवन नहुँदा सुरक्षाकर्मी बाह्रैमास त्यहाँ बस्न सक्दैनन्।
त्यस्तै, छांगरुमा सशस्त्र प्रहरीको नम्बर ५० गुल्म छ। गुल्मका लागि गत वर्षबाट भवन निर्माण थालिएको भए पनि अझै सम्पन्न भएको छैन। सशस्त्र प्रहरी अहिले भाडाको घरमा बसेको छ।
यहाँका बासिन्दा चिसो छल्न ६ महीना सदरमुकाम खलङ्गा बसाइँ सर्छन्। गर्मीका ६ महीना मात्रै व्यासको छांगरु तिंकर उक्लिने गर्छन्।