बेलायतबाट ‘गोर्खा हिस्ट्री मन्थ’ को शुरूआत
गोर्खालीको गौरवपूर्ण इतिहासलाई उजागर गर्न बेलायतबाट ‘गोर्खा हिस्ट्री मन्थ’ को शुरूआत गरिएको छ।
११ अक्टोबरबाट ‘गोर्खा हिस्ट्री मन्थ’ अर्थात् ‘गोर्खा इतिहास महीना’ अभियानको शुरूआत गरिएको विश्व नेपाल साहित्य महासंघ साउथ यूकेका अध्यक्ष विजय हितानले बताए। यो अभियान ११ नोभेम्बरसम्म चल्नेछ।
बेलायतमा ११ नोभेम्बरका दिन ‘पप्पी–डे’ मनाइन्छ। पहिलो र दोस्रो विश्वयुद्धमा ज्यान गुमाएका सैनिकलाई सम्झिँदै श्रद्धाञ्जली अर्पण गरिन्छ।
यस्तै, अमेरिका, क्यानडा र बेलायतमा अफ्रिकी मूलका अश्वेत नागरिकले प्रत्येक वर्ष अक्टोबरलाई ‘ब्ल्याक हिस्ट्री मन्थ’ का रूपमा इतिहासबारे विचार विमर्श गर्दै आएका छन्। त्यसैबाट प्रेरित भएर ‘गोर्खा हिस्ट्री मन्थ’ मनाउन थालिएको अध्यक्ष हितानले जानकारी दिए।
“गोर्खालीले गौरवशाली इतिहास रचेका छन्। यसैले नेपाललाई विश्वजगत्मा चिनाएको छ,” हितान भन्छन्, “अहिलेसम्म केही बेलायती लेखकले लेखेर मात्रै यो वीरताको इतिहास बचेको हो। छायामा परेको इतिहासलाई अनुसन्धान, संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले गोर्खाली इतिहास मासको अवधारणा ल्याइएको हो।”
यसमा सहभागी हुन विश्व नेपाली साहित्य महासंघ पश्चिम यूके शाखा र साउथ यूके शाखाले आग्रह गरेका छन्। युद्धमा वीरगति प्राप्त गरेका आफन्तको तस्वीर तथा सङ्क्षिप्त जीवनी सामाजिक सञ्जालमा पोस्ट गरेर सहभागी हुन सकिने जनाइएको छ।
एक महीनाभरि युद्ध, सैनिक, पल्टनियाँ, लाहुरे सम्बन्धी इतिहास, कविता, लेख, संस्मरण, नियात्रा सञ्चार माध्यममा प्रकाशन तथा प्रसारण गरिने भएको छ। विशेष गरेर ब्रिटिश गोर्खा सेनाका पल्टन, भारतीय गोर्खा सेनाका पल्टन, नेपाली सैनिक, नेपाल प्रहरी, गोर्खा रिजर्भ युनिट ब्रुनाई, गोर्खा कन्टिन्जेन्ट सिङ्गापुर प्रहरीको यसमा महत्त्वपूर्ण भूमिका रहने आयोजकले विश्वास गरेको छ।