देउवा पक्षको प्यानलले जितेपछि मुगुमा अबिरजात्रा
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत मुगुमा ऐनबहादुर शाही सभापति निर्वाचित भएका छन्। निवर्तमान सभापति खड्कबहादुर शाहीलाई पराजित गर्दै उनी निर्वाचित भएपछि अबिरजात्रा गरिएको छ।
आज बिहान मत परिणाम सार्वजनिक भएसँगै सदरमुकाम सिमकोटमा विजय र्याली निकालिएको छ। र्यालीमा सहभागी नवनिर्वाचित जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्यसँगै कांग्रेस नेता तथा कार्यकर्ताले अबिरजात्रा गरेका हुन्।
उनीहरूले एकअर्कालाई अबिर दलेर खुशीयाली मनाएका छन्। र्यालीमा सहभागी सयौं कार्यकर्ता अबिर र फूलमालाले रङ्गीचङ्गी देखिन्थे।
बिहीबार सम्पन्न मत गणना अनुसार, ऐनबहादुरले ४०६ र निवर्तमान सभापति खड्कबहादुरले ३५० मत पाएका छन्। निर्वाचनमा ७७२ मत खसेका थिए भने १६ मत बदर भएका थिए।
ऐनबहादुर कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्षका हुन्। उनको प्यानलका अधिकांश उम्मेदवार विजयी भएका छन्।
उपसभापतिमा कर्ण रावल र हरिजङ्ग शाही निर्वाचित भएका छन्। रावल देउवा पक्षका र शाही कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन्।
सचिवमा देउवा पक्षका जन्मजय भण्डारी र लोकेन्द्र मल्लले जितेका छन्। सह-सचिवमा देउवा पक्षका शैलेन्द्र शाही र पौडेल पक्षका उर्गेन लामा विजयी भएका छन्।
त्यस्तै, महाधिवेशन प्रतिनिधिमा देउवा पक्षका १७ जना विजयी भएका छन्।