बोक्सीको आरोपमा कुटपिट गर्ने पक्राउ, आठ वर्ष कैद सजाय हुनसक्ने
ललितपुर, लुभु बस्दै आएकी ३० वर्षीया महिलालाई बोक्सीको आरोप लगाउँदै कुटपिट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर, काठमाडौंले पीडित महिलाका श्रीमान् दीपेन्द्रकुमार थिङ, दशनारायण महर्जन र जनार्दन पाण्डेलाई स्वयम्भू ठूलोभ¥याङबाट पक्राउ गरेको हो।
बोक्सीको आरोप लगाउँदै कुटपिट गर्नेलाई ८ वर्षसम्म कैद सजाय र एक लाख रुपैयाँसम्म जरिवाना हुने कानूनी व्यवस्था छ।
बोक्सीको आरोप (कसूर र सजाय) ऐन, २०७२ मा कुनै व्यक्तिलाई कुटपिट गर्ने, खोप्ने, डाम्ने, पोल्ने, रासायनिक, विषालु, जैविक पदार्थ प्रयोग गरी वा अन्य किसिमले यातना दिने, मलमूत्र खुवाउने, चारपाटा मुड्ने, नग्न पारी/नपारी कुनै ठाउँमा घुमाउने वा कुनै किसिमले क्रुर अमानवीय वा अपमानजनक व्यवहार गर्नेलाई पाँचदेखि ८ वर्षसम्म कैद सजाय र ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवानानको व्यवस्था छ।
बोक्सीको आरोप लगाउनु नै दण्डनीय अपराध हो। त्यसमाथि कुटपिट गर्नेलाई ऐनले थप सजायको व्यवस्था गरेको छ।
घाउचोट हेरेर थप ऐन पनि आकर्षिक हुने कानूनविद्हरू बताउँछन्। “अंगभंग भएको छ भने मुलुकी अपराध संहिता पनि आकर्षित हुन्छ” नेपाल बार एशोसियसनका पूर्वमहासचिव सुनील पोखरेल भन्छन्, “जसअनुसार थप १० वर्ष कैद सजाय हुनसक्छ।”