‘मेलम्चीमा बाढी ल्याउने गेग्रान जलाधार क्षेत्रमै रोक्न सकिन्छ’
‘खोलामा चेक-ड्याम बनाउँदै गयौं भने त्यसलाई रोक्न सकिन्छ। त्यसका लागि प्रविधि र जनशक्ति पनि छ। मूल कुरा, सरकारसँग यो जनशक्तिलाई प्रयोग गर्ने इच्छा र पैसा छ कि छैन भन्ने हो।’
मेलम्ची नदीमा आएको बाढीले मेलम्ची र हेलम्बु क्षेत्रका पाँच दर्जनभन्दा बढी घर बगायो। १ असारमा आएको बाढीले लेदो भरिएका घर अहिले बगाएको हो।
४०० घरपरिवारलाई विस्थापित बनाएको असारको बाढीले ६ वटा पक्की पुल र १२ वटा झोलुङ्गे पुल पनि बगाएको थियो। मेलम्ची बाढीको विषयमा इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकमा कार्यरत ‘इन्जिनियरिङ जिओलजी’का उपप्राध्यापक वसन्त अधिकारीसँग गरिएको संक्षिप्त कुराकानीः
पहिरो निरीक्षण गर्न मेलम्ची जानुभएको थियो। के रहेछ पहिरो जानुको कारण?
मौसमको कारणले मेलम्चीको घेङसम्म मात्र जान सक्यौं। भिडिओहरू हेर्दा त्यहाँ पहिलेदेखि ठूलो परिमाणमा गेग्रान जम्मा भएको देखिन्छ।
अहिले जसरी बाढी आइरहेको छ, त्यो १ असारको पहिरोले मात्र ल्याएको होइन। पहिल्यै जम्मा भएको गेग्रानलाई अहिले खोलाले बगाएको हो। असारमा आएको पहिरोले नदीको दायाँबायाँ कटान गरेको थियो, त्यो प्रक्रिया अहिले पनि जारी छ।
माथि जम्मा भएको गेग्रान कति जति छ? कस्तो खालको हो?
कहिलेदेखि त्यहाँ थुप्रिएको थियो, अब त्यसको अध्ययन गर्नुपर्छ। भिडिओका दृश्यहरू हेर्दा बालुवाका विभिन्न तहहरू देखिन्छन्। तह-तह हुनु भनेको समथर स्थानमा गेग्रान आएर जम्मा भएको पनि हुनसक्छ। हजारौं वर्षअघि मेलम्ची नदी थुनिएर त्यो स्थानमा गेग्रान जम्मा भएको पनि हुनसक्ने सम्भावना छ।
त्यस बाहेक हिमताल रहेको र माथिबाट आएको गेग्रान जम्मा भएर ताल हराएर गेग्रान जम्मा भएको हुनसक्छ। यी सम्भावना मात्र हुन्। ठ्याक्कै भएको के भन्ने कुरा अध्ययनपछि मात्र भन्न सक्छौं।
मेलम्चीको जलाधार क्षेत्रमा गएको पहिरोको असर कति लामो समयसम्म रहला?
त्यहाँ जम्मा भएको गेग्रान हेर्दा त्यसको प्रभाव लामो समयसम्म पर्ने देखिन्छ। बर्खामा त तल बस्नसक्ने अवस्था छैन। माथि गएर त्यहाँ जम्मा भएको गेग्रानको वैज्ञानिक अध्ययन गरेर मात्र त्यसबारे भन्न सकिन्छ। वैज्ञानिक अध्ययनपछि मात्र कति वर्षमा बगेर सकिन्छ र त्यसलाई रोक्न पर्यो भने कुन उपायद्वारा रोक्न सकिन्छ भन्ने यकिनका साथ भन्न सकिन्छ।
बगिरहेको गेग्रानलाई माथि नै रोक्न सकिन्छ?
जहाँ छ, त्यहाँ रोक्न त सकिन्न। तर, खोलामा 'चेक-ड्याम' बनाउँदै गयौं भने त्यसलाई रोक्न सकिन्छ। त्यसका लागि प्रविधि र जनशक्ति पनि छ। मूल कुरा, सरकारसँग यो जनशक्तिलाई प्रयोग गर्ने इच्छा र पैसा छ कि छैन भन्ने हो। इच्छा र पैसा भयो भने योभन्दा ठूला घटनामा पनि क्षति न्यूनीकरण गर्न सकिन्छ।
मेलम्चीले सिकाएको पाठ के हो?
तल्लो तटीय क्षेत्रमा बस्ती विकास गर्नका लागि उपल्लो तटीय क्षेत्रमा के कस्ता प्राकृतिक प्रकोपहरू छन् भन्ने कुराको विस्तृत अध्ययन गरेर विपद्मैत्री भू-उपयोग बनाएर लागू गर्नुपर्छ। ठूला ठूला आयोजना बनाउँदा प्राकृतिक प्रकोप आयो भने त्यसले कस्तो असर गर्दछ भनेर मोडलिङ गर्नुपर्छ।
त्यति ठूलो लागतमा मेलम्ची आयोजनाको निर्माण गरियो। तर, अहिलेको प्रकोपले त धेरै ठूलो क्षति गर्यो। हामीले जलाधार क्षेत्रमा अध्ययन गरेर त्यसका आधारमा नीतिनियम बनाउनुपर्छ।