रेशम चौधरी पनि पुगे निर्वाचन आयोग
टीकापुर घटनामा निलम्बित सांसद रेशम चौधरी पनि निर्वाचन आयोग पुगेका छन्।
सोमबार जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादमा केन्द्रीय कार्यकारणी समिति सदस्यको सनाखतका लागि चौधरी आयोग पुगेका हुन्। उनलाई डिल्लीबजार कारागारबाट आयोग लगिएको हो।
आयोगले जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षलाई आयोग बोलाएको थियो। यसअघि जसपाका अन्य केन्द्रीय कार्यकारिणी समिति सदस्य सनाखतका लागि आयोग पुगेका थिए।
अहिलेसम्म यादव पक्षमा बहुमत देखिएको छ। उनको पक्षमा ३४ जना केन्द्रीय कार्यकारिणी समिति सदस्यले हस्ताक्षर गरेका छन्।
दुवै पक्षको सनाखत सकिएपछि आयोगको इजलासले फैसला सुनाउनेछ। यस मुद्दामा एक सातादेखि आयोगको इजलासमा सुनुवाइ चलिरहेको छ।