ओलीलाई स्पष्टीकरण बुझाउने नेपाल पक्षको तयारी
नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदले अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण बुझाउने तयारी गरेका छन्।
कानून व्यवसायीसँगको परामर्शपछि स्पष्टीकरण दिन लागिएको नेपाल पक्षका सांसद विरोध खतिवडाले बताए। “कानून व्यवसायीसँग परामर्श गर्यौं। अब स्पष्टीकरणको जवाफ दिने भएका छौं,” सांसद खतिवडाले हिमालखबरसँग भने, “आजै जवाफ दिने तयारी गरिरहेका छौं।”
प्रधानमन्त्री शेरबहादुर देउवालाई ३ साउनमा प्रतिनिधि सभामा विश्वासको मत दिएका २२ जना सांसदलाई अध्यक्ष ओलीले स्पष्टीकरण सोधेका थिए। उनीहरूलाई २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन भनिएको थियो।
सर्वोच्च अदालतले २८ असारमा प्रतिनिधि सभा पुनःस्थापना गर्दै विश्वासको मत दिने सांसदलाई कारबाही नगर्न आदेश दिएको थियो। सर्वोच्चको आदेशलाई ध्यानमा राख्दै अध्यक्ष ओलीले पनि स्पष्टीकरण पत्रमा विश्वासको मत दिएको विषय उल्लेख गरेका छैनन्। उनले पार्टी विरोधी गतिविधि गरेको भन्दै अनुशासनको कारबाहीका लागि स्पष्टीकरण सोधेका छन्।
त्यसको जवाफ दिने कि नदिने भनेर नेपाल पक्षका सांसदले कानून व्यवसायीसँग परामर्श गरेका थिए। कानूनी रूपमा बलियो हुनका लागि पनि स्पष्टीकरण बुझाउनुपर्ने कानून व्यवसायीले सल्लाह दिएका थिए।
कानून व्यवसायीको सल्लाह अनुसार, नेपाल पक्षका सांसदहरू स्पष्टीकरण दिने तयारीमा जुटेका छन्। केहीबेरमै अध्यक्ष ओलीलाई वरिष्ठ नेता नेपालसहित २२ जना सांसदले स्पष्टीकरण बुझाउने तयारी गरेको सांसद खतिवडाले बताए।
४ साउनमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। त्यसका आधारमा अध्यक्ष ओलीले ५ साउनमा २२ जना सांसदलाई स्पष्टीकरण पत्र पठाएका थिए।