स्पष्टीकरणबारे नेपाल पक्षका सांसद कानूनी परामर्शमा
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने वा नदिने भन्ने विषयमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसद कानूनी परामर्शमा जुटेका छन्।
अध्यक्ष ओलीले वरिष्ठ नेता नेपालसहित २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेका थिए। ५ साउनमा पठाएको स्पष्टीकरण पत्रको नेपाल पक्षले जवाफ दिएको छैन।
अध्यक्ष ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने वा नदिने भन्ने विषयमा कानून व्यवसायीसँग परामर्श भइरहेको नेपाल पक्षका सांसद मेटमणि चौधरीले बताए। “अहिले हामी कानून व्यवसायीसँग परामर्श गरिरहेका छौं। कानून व्यवसायीको परामर्शका आधारमा निर्णय गर्छौं,” चौधरीले हिमालखबरसँग भने।
प्रधानमन्त्री शेरबहादुर देउवालाई ३ साउनमा विश्वासको मत दिएपछि एमाले केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता नेपालसहित २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। बैठकको निर्णय अनुसार, अध्यक्ष ओलीले स्पष्टीकरण पत्र पठाएका थिए। स्पष्टीकरण सोधिएका २२ जनामा आठ जना ओली पक्षकै सांसद हुन्।
उनीहरूलाई पठाएको स्पष्टीकरण पत्रमा विश्वासको मत दिएको विषयमा भने केही खुलाइएको छैन। उनीहरूलाई पार्टीविरुद्ध विभिन्न गतिविधि गरेको आरोप लगाइएको छ।
स्पष्टीकरण बुझाउनुपर्ने म्याद सकिनै लाग्दा नेपाल पक्ष परामर्शमा जुटेको हो। “अहिलेसम्म स्पष्टीकरण दिने वा नदिने भन्ने निर्क्योल गरेका छैनौं। कानूनी रूपमा कमजोर नहुने गरी निर्णय गर्छौं,” एमाले केन्द्रीय सदस्य समेत रहेका सांसद चौधरीले भने।