जसपाको आधिकारिकता विवाद टुंग्याउन आयोगको इजलास बस्दै
जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवाद टुंग्याउन आज निर्वाचन आयोगको इजलास बस्न लागेको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको नेतृत्वमा आयोगको इजलास बस्न लागेको हो। आयोगका इजलासमा जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षले कानून व्यवसायी राखेर बहस गर्न सक्नेछन्।
इजलासमा बहसका लागि दुवै पक्षलाई आयोगले बोलाएको छ। दुवै पक्षको बहस सकिएपछि आयोगले निर्णय सुनाउनेछ।
यसअघि यादव पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा निवेदन दिएको थियो। त्यसपछि ठाकुर पक्षले पनि निवेदन दिएको थियो।
दुई साताअघि आयोगले दुवै पक्षसँग छलफल गरेको थियो। छलफलमा दुवै पक्षले सँगै बस्न नसक्ने जनाउँदै कानूनी रूपमा विवाद टुंग्याउन आयोगलाई सहमति दिएका थिए।
दुवै पक्षको सहमतिमा आयोगले इजलास मार्फत आधिकारिकता टुंग्याउन लागेको हो।