श्वेतपत्र जारी गर्ने तयारीमा अर्थमन्त्री
अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रको वास्तविक जानकारी दिन श्वेतपत्र सार्वजनिक गर्ने बताएका छन्।
१ साउनमा अर्थ मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नवनियुक्त मन्त्री शर्माले समग्र मुलुकको आर्थिक अवस्थाका बारेमा अध्ययन गरेर श्वेतपत्र जारी गर्ने बताएका हुन्।
मन्त्री शर्माले तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले अध्यादेश मार्फत ल्याएको बजेट संसद्मा पेश गर्ने जानकारी दिए। उनले भने, “बजेट संसद्मा पेश गरेर छलफल हुन्छ। त्यसपछि मात्र नयाँ बजेट ल्याउने वा यसैलाई कार्यान्वयन गर्ने थाहा हुन्छ।”
अर्थमन्त्री शर्माले शेयर बजारबारे भने आफूलाई जानकारी नभएको बताए। उनले भने, “शेयर बजारबारे मलाई खासै जानकारी छैन, त्यसैले यो विषयमा अहिले नबोलौं।”
यसअघि पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले पनि श्वेतपत्र ल्याएका थिए। तर, सो अनुरूप काम गर्न नसकेको भन्दै खतिवडाको आलोचना भएको थियो।