मस्तिष्कघात भएका बैरागी काइँलाको स्वास्थ्यमा सुधार
मस्तिष्कघात भएर अस्पताल भर्ना भएका नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाको स्वास्थ्यमा सुधार आएको छ।
एक साताअघि मस्तिष्काघात भई ओम अस्पतालमा उपचाररत काइँलाको स्वास्थ्यमा क्रमिक सुधार आएको अस्पतालले जनाएको छ।
नेपाली साहित्यमा आयामेली आन्दोलनका एक हस्ती, वरिष्ठ कवि एवं मुन्धुम दर्शनका आधिकारिक व्याख्याता काइँलाको स्वास्थ्य अवस्था बुझ्न प्रतिष्ठानका सदस्यसचिव प्रा.जगत्प्रसाद उपाध्याय, प्राज्ञ परिषद्का सदस्य एवं साहित्य (पद्य र काव्य) विभाग प्रा.डा.हेमनाथ पौडेल लगायत अस्पताल पुगेका थिए।
शरीरको दायाँ भाग शुरूमा चल्न नसकेको र बोली राम्ररी खुल्न नसकेको अवस्थाबाट काइँलाको स्वास्थ्यमा क्रमिक रूपमा सुधार आई सामान्यतः शरीर र हात चल्न थालेको तथा बोली पनि प्रस्ट निस्कन थालेको सदस्यसचिव उपाध्यायले बताए।
यसअघि काइँला आईसीयूमा रहँदा कुलपति गङ्गाप्रसाद उप्रेती र सदस्यसचिव उपाध्यायले अस्पताल पुगी काइँलाकी छोरी नामोती नेम्वाङ, उपचारमा संलग्न चिकित्सक तथा नर्सहरूबाट स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। (रासस)