देउवाले सभापतिमा उम्मेदवारी घोषणा गरेपछि पौडेलले बोलाए बैठक
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशनबारे रणनीति बनाउन आफ्नो पक्षका नेताको बैठक बोलाएका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवाले पुनः सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेपछि पौडेलले आफ्नो पक्षका नेताहरूको बैठक बोलाएका हुन्। बिहीबार बस्ने बैठकका लागि आफूलाई निमन्त्रणा आएको कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले जानकारी दिए।
पौडेलले आगामी भदौमा हुने महाधिवेशनलाई लक्षित गरेर आफ्नो पक्षका नेताहरूसँग छलफल गर्न लागेका हुन्। पौडेल निकट एक नेता भन्छन्, “हाम्रो पक्षबाट सभापतिमा एक जना मात्रै उम्मेदवार बनाउने प्रयास भइरहेको छ, भोलि बस्ने बैठकको प्रमुख लक्ष्य पनि त्यही हो।”
१३औं महाधिवेशनमा पौडेललाई पराजित गर्दै देउवा पार्टी सभापति बनेका थिए। कांग्रेसकाे १४औं महाधिवेशन १६ देखि १९ भदाैमा काठमाडाैंमा हुँदै छ।