हेलम्बुमा हराएका चार जना भेटिए, अझै तीन विदेशीसहित २० बेपत्ता (सूचीसहित)
मेलम्ची नदीमा आएको बाढीका कारण हराएका २४ जनामध्ये चार जना सम्पर्कमा आएका छन्। अझै तीन विदेशी नागरिकसहित २० जना बेपत्ता रहेका छन्।
जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकका अनुसार १ असारमा बाढी आएपछि २७ जना हराएका थिए। जसमध्ये तीन जनाको मृत्यु भएको छ।
त्यस्तै, चार जना बिहीबार साँझ सम्पर्कमा आएका छन्। सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी-१, घोर थलीका १९ वर्षीय विमल खत्री भन्ने देव खत्री, राम थापा, सुवास जिरेल र कमल खत्री सम्पर्कमा आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार, हेलम्बु गाउँपालिका-२ किउलका माधव भण्डारी, चुरेटारका गणेश ज्योती, पल्चोक शेराका टीकामाया खड्का, चनौटेका ज्ञानेन्द्र कक्षपती, चौतारा साँगाचोकगढीका सुरैन्द्र नेपाल, हेलम्बु–६ किउल पारीका च्याङा तामाङ र काली तामाङ सम्पर्कविहीन छन्।
त्यस्तै, हेलम्बु-३ चनौटेकी साइली तामाङ, तनहुँको आबुखैरेनी–१ का रेशमलाला सार्की, तेह्रथुमको खामलालुङ-९ का होमराज घिमिरे, भारतका विजय बासुमन्तरी र जिनडाओ बासुमन्तरी बेपत्ता रहेका छन्। यसैगरी बेपत्ता हुनेमा चीनका सन यु चुवान, हेलम्बु-१ का सुनील तामाङ, पूर्ण तामाङ, कामी तामाङ, नोर्की तामाङ, तस्वीर तामाङ, जगल गाउँपालिकाकी गीता थापा र सुदीप थापा रहेका छन्। एक वर्षीय सुदीप आमा गीतासँगै हराइरहेका छन्।
उनीहरूको खोजी भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसँगै स्थानीय बासिन्दा परिचालन भएका छन्।
१ असार साँझ मेलम्चीमा आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा क्षति गरेको छ। भौतिकसँगै मानवीय क्षति पनि भएको छ। मेलम्चीमा भने मानवीय क्षति हुनबाट जोगिएको छ।
मेलम्ची बजार क्षेत्रका एक सय परिवार विस्थापित भएका छन्। उनीहरू विद्यालय र आफन्तजनको घरमा आश्रय लिइरहेका छन्।