गण्डकीमा सरकार गठनका लागि आह्वान, २४ घण्टाको म्याद
गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले सरकार गठनका लागि दलहरूलाई आह्वान गरेकी छिन्।
शुक्रबार प्रदेश प्रमुख पौडेलले २४ घण्टाको समय दिएर सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेकी हुन्। उनले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठनका लागि आह्वान गरेकी छिन्।
उपधारा ५ मा प्रदेशका जुनसुकै सदस्यले पनि मुख्यमन्त्रीका लागि दाबी पेश गर्नसक्नेछन्। त्यसका लागि आफूसँग बहुमत भएको आधार पेश गर्नुपर्नेछ।
गण्डकी प्रदेशमा सरकार गठनको प्रक्रिया केन्द्रको जस्तै अवस्थामा पुगेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न नसक्ने जनाउँदै नयाँ सरकार गठनका आह्वान गर्न अनुरोध गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम दाबी पेश गर्न आह्वान गरेकी थिइन्। राष्ट्रपति भण्डारीले २१ घण्टाको समय दिएकी थिइन्।
त्यसमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले)को माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाका सहित १४९ जनाको हस्ताक्षरसहित शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि दाबी पेश गरेका थिए। त्यस्तै, जसपा अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोको समर्थनमा एमाले अध्यक्ष ओलीले दाबी पेश गरेका थिए।
तर, राष्ट्रपति भण्डारीले दुवै दाबी नपुगेको भन्दै प्रधानमन्त्री नियुक्त गर्न अस्वीकार गरेकी थिइन्। त्यसपछि प्रधानमन्त्री ओलीको सिफारिशमा प्रतिनिधि सभा विघटन गरी मध्यावधि चुनाव घोषणा गरेकी थिइन्। त्यसका विरुद्ध सर्वोच्च अदालतमा परेका रिटमा सुनुवाई जारी रहेको छ।
अहिले गण्डकीमा पनि धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ। प्रदेश प्रमुखका कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले प्रेस विज्ञप्ति जारी गरी २९ जेठ दिउसो ३ बजेसम्म सरकार गठनका लागि दाबी पेश गर्न आह्वान भएको जनाएका छन्।