हामीले सांसद पदबाट राजीनामा दिनुपर्छः भीम रावल
नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गर्न आफूहरूले राजीनामा दिनुपर्ने बताएका छन्।
“असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ। थप राष्ट्रिय हित, पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रधानमन्त्री केपी ओलीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ,” रावलले ट्वीटरमा लेखेका छन्, “त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ। यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित छ।”
नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले सरकार गठनका लागि बहुमत पुर्याउन नसकिरहेका बेला सत्तारुढ दलका उपाध्यक्ष रावलको यो भनाइलाई अर्थपूर्ण मानिएको छ।
२७ वैशाखमा विश्वासको मतमाथि मतदान हुँदा रावल लगायत माधव नेपाल पक्षका २८ सांसद अनुपस्थित भएका थिए।